
२० असोज २०८२ सोमवार । स्याउलडाँडा, हालको नाम रयाले बर्खोला, भानु नगरपालिका–१३, तनहुँ जिल्लामा अवस्थित एक सानो, सुन्दर, र ऐतिहासिक टोल हो। यो टोल गुरुङ समुदायअन्तर्गत प्र्हासा खलकको उद्गमस्थलको रूपमा चिनिन्छ ।

एक समय यहाँ प्र्हासा खलकको बाक्लो बसोबास थियो। तर पछिल्ला केही दशकहरूमा बसाइँसराइका कारण अहिले यहाँ केही थोरै घरहरू मात्र बाँकी छन्। यद्यपि टोलबाट बाहिर बसोबास गरिरहेका दाजुभाइ, दिदीबहिनीहरूले अझै पनि स्याउलडाँडालाई आफ्नो माटो, आफ्नो पहिचानको मूल स्रोतका रूपमा सदा सम्झिरहेकै छन्।
प्रवासीहरूको योगदान र टोल विकास :

देश-विदेशमा रहेका प्र्हासा खलकका सदस्यहरूले आर्थिक सहयोग संकलन गरेर टोल विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। सामूहिक लगानी र प्रयासद्वारा यहाँ निम्न प्रमुख पूर्वाधारहरू निर्माण गरिएको छ:

सिढी निर्माण :

पानी लिफ्टिङ आयोजना :

मन्दिर परिसरमा नैबेध (विश्रामगृह) निर्माण :

कुलदेवता नरसिंह देवताको आकर्षक मन्दिर निर्माण :

यी सबै कार्यहरू खलकका दाजुभाइहरूको सामूहिक संकल्प र माटोप्रेमको प्रतिफल हुन्।
संस्कृति, श्रद्धा र एकता :
जति नै भौगोलिक रूपमा टाढा भए पनि, दशैं तथा नरसिंह देवताको पूजाका अवसरमा प्र्हासा खलकका सदस्यहरू अनिवार्य रूपमा गाउँमा भेला हुने गर्छन्। यस अवसरमा सामूहिक पूजाआजा, भेटघाट, र आपसी सद्भावको वातावरण सिर्जना हुने गर्दछ।
केही वर्षअघि “मान्छे थिए, विकास थिएन”; आज “विकास छ, तर मान्छे छैनन्” भन्ने विडम्बनात्मक यथार्थले गाउँलाई छोएको छ। यद्यपि, स्याउलडाँडा अझै पनि एउटा जीवित पहिचान हो – जहाँ हरेक ढुंगा, बाटो, र देवस्थलमा एउटा भावनात्मक नाता गाँसिएको छ।

एक भावपूर्ण आभार :
प्र्हासा खलकका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई – जो जहाँ भए पनि, आफ्नो जन्मभूमिप्रति समर्पित भएर सहयोग गर्दै आउनुभएको छ – हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। तपाईंहरूको माया, समर्पण र योगदानले नै आजको स्याउलडाँडालाई नयाँ स्वरूप दिएको छ।
तनहुँ ।



























