प्रहार समाचार । इलाम, १९ असोज २०८२ आइतवार । लगातारको भीषण वर्षापछि इलाम जिल्लामा गएको पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। आइतबार बिहानसम्म विभिन्न ठाउँमा खसेको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकाका ६ स्थानमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या १८ पुगेको पुष्टि भएको छ।

सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारे र धुसुनेमा क्रमशः १ र २ जना, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना तथा इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोका कारण अन्य थुप्रै व्यक्ति बेपत्ता छन् भने अझै पनि केही स्थानमा पहिरो खसिरहेको खबर आइरहेको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू उद्धार तथा राहत कार्यमा खटिएका छन्। अविरल वर्षाले इलामका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् भने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। सुरक्षाकर्मी र स्थानीयको प्रयासमा उद्धार कार्य तीव्र पारिएको छ, तर निरन्तर वर्षाले चुनौती थपिएको जनाइएको छ।
























