प्रहार समाचार । काठमाडौँ, १९ असोज २०८२ आइतवार । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशभर मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पनि कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही वर्षा हुने अनुमान गरिएको छ। बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागमा समेत केही स्थानमा वर्षा हुन सक्ने जनाइएको छ।
मनसुनी वायु सक्रिय रहेका कारण आइतबार कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी क्षेत्रहरूमा साधारणतया बदली रही, थोरै स्थानहरूमा चट्याङ र मेघगर्जनसहित वर्षा हुने देखिएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
























