हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

नृत्याङ्गना नोरा फतेहीको जादु काठमाडौंमा : हजारौं नेपाली मन्त्रमुग्ध

प्रहार समाचार । काठमाडौँ ,४ जेठ २०८१ आइतवार । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी नृत्य प्रस्तुतिबाट हजारौं नेपाली दर्शकलाई मन्त्रमुग्ध बनाइन्। पहिलोपटक नेपाल आएकी फतेहीले नेपाली कला र आतिथ्यताको खुलेर प्रशंसा गरिन्। उनले आफ्ना गीतमा नेपाली कलाकारहरूले बनाएका डान्स क्लिपहरू हेर्ने गरेको र नेपालबाट पाएको माया आफूका लागि ऊर्जाको स्रोत भएको बताइन्

कार्यक्रमको विशेष क्षणमा अभिनेत्री फतेहीले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाउँदै ‘गेहरा समन्दर’ गीतमा उनीसँग संयुक्त प्रस्तुति दिइन्। दर्शक मात्र होइन, आयोजक समेत खत्रीको उपस्थितिबारे अनभिज्ञ थिए। यसैगरी, सामाजिक सञ्जालमा उनका गीतमा नृत्य प्रस्तुत गर्दै आएका कन्टेन्ट क्रियटर गौरव सिटौलालाई पनि दर्शकबीचबाट पहिचान गर्दै मञ्चमा लगिन्। उनीहरूले ‘दिलबर’ गीतमा सामूहिक प्रस्तुति दिएका थिए।

नोरा फतेहीले आफ्ना चर्चित गीतहरू ‘स्नेक डान्स’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ आदि गीतमा २३ सदस्यीय नृत्य टोलीसहित करिब ४० मिनेटसम्म ऊर्जावान प्रस्तुति दिँदा दर्शक रोमाञ्चित बने। ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजित कार्यक्रममा फतेहीसँगै नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकारले आ-आफ्नो प्रस्तुति दिएका थिए। भारतीय र नेपाली कलाको यस सुन्दर संयोजनले कार्यक्रमलाई अविस्मरणीय बनाएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button