हेडलाईनसमाचारभानुगण्डकीविजनेसमनोरञ्जन

तनहुँमा ‘जल–संवाद’ को नयाँ शैली  : पत्रकारिता र पर्यटनको अभूतपूर्व सहकार्यको नमुना

• शंकरराज नहर्की /तनहुँ, ४ जेठ २०८२ आइतवार । सधैं जसो कलम, क्यामेरा र डायरीका साथ समाचार बनाउन कार्य क्षेत्रमा उत्रने तनहुँका  पत्रकारहरू शनिबार फरक भूमिकामा देखिए। पत्रकारहरू मस्र्याङ्दी नदीको छालसँगै हेलमेट, लाइफ ज्याकेट र प्याडलको साथ जलविहारमा रमाइरहेका थिए। नेपाल पत्रकार महासंघ तनहुँको जम्बो टोली जलस्रोतमा आधारित पर्यटन प्रवर्द्धनको उद्देश्यसहित भानु नगरपालिकाले आयोजना गरेको रोमाञ्चक जलविहार कार्यक्रममा सहभागी भएका थिए।

भानु नगरपालिकाको आर्थिक सहयोग, पत्रकार महासंघ तनहुँको आयोजना र ईनिसियटिभ आउटडोरको प्राविधिक सहकार्यमा आयोजना गरिएको जलविहार तुरतुरेदेखि अकला मन्दिरसम्म करिब साढे ३ घण्टा यात्रा थियो। प्रकृतिको काखमा बग्ने मस्र्याङ्दी नदीको छालसँग संवाद गर्दै पत्रकारहरूले भानु नगरको पर्यटन सम्भावना आफ्नै आँखाले अनुभव गरे। सहभागिता, सुरक्षा र व्यवस्थापनको दृष्टिकोणले कार्यक्रम उत्कृष्ट रह्यो।

कार्यक्रमका प्रमुख अतिथि भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले जलस्रोत, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृति भानुको पहिचान भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्थानीय पर्यटनको मार्गचित्र कोर्न मद्दत गर्ने बताए। “सिर्जनशील आयोजनाले भानुलाई ‘हाइड्रो–टुरिज्म’ को केन्द्र बनाउने सम्भावना बलियो छ,” नगरप्रमुख त्रिपाठीको भनाइ थियो ।

कार्यक्रममा उपप्रमुख उमा गोतामले पालिकाले आर्थिक समृद्धिको आधारको रुपमा पर्यटन विकासलाई प्राथमिकतामा राखेको बताइन्। उनले भनिन् – ‘सम्पदाहरुको संरक्षण गर्दै समुदायमै रोजगारी सिर्जना गर्ने तर्क पालिका लागिपरेको छ। ‘


गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका  सचिव राजेन्द्रदेव पाण्डेज्यू,भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेज्यू, सूचना अधिकारी तथा प्रशासकीय अधिकृत कृपाहरी लौडारी, ईनिसियटिभ आउटडोर प्रा.लि.का संचालक तथा कुशल जलविहार पथ प्रदर्शक चन्द्र देव  आले, भानु ९ चितीखोलास्थित ग्रिनहिल भिलेज होमस्टे परिवार, ग्रिन हिमालय फार्म स्टेका संचालक गिता अधिकारी लगायत अन्य सरोकारवाला अधिकारी तथा पर्यटन अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

सबैभन्दा रोचक पक्ष भनेको नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक नै अकला मन्दिर नजिक मरस्याङ्दी नदीको तालमा डुङ्गामा बसेर सम्पन्न हुनु थियो, जसले ‘जल–संवाद’ को नयाँ शैली प्रस्तुत गर्‍यो। यो कार्यक्रमले पत्रकारिता र पर्यटनको अभूतपूर्व सहकार्यको नमुना प्रस्तुत गरेको देखिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button