प्रहार समाचार । तनहुँ, ११ वैशाख २०८१ बिहीवार । आज १९औँ लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमका साथ लोकन्त्र दिवसमनाइँदै छ। यस अवसरमा प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत अन्य विभिन्न कार्यक्रम गरिन्छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापनागरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।
निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको थियो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ । तर पछिल्लो समय देशमा फैलिएको भ्रष्टाचार, व्यथिति, विसंगति, राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता दिने प्रवृत्ति लगायत रोजगारीको अवसर समेत सिर्जना हुन नसकेपछि लोकतन्त्रमाथि नै प्रश्न चिन्ह उत्पन्न हुन थालेको छ। संघीयता देशले धान्नै नसक्ने एकथरीको विश्लेषण छ भने देशमा व्याप्त चरम विकृति विसंगतिले जनतामा निरासाको बादल मडारिएको छ। सत्तासीन र सत्ता बाहिर रहेका राजनीतिक दलहरूले समयमा नै उचित व्यवस्थापन गर्न नसके/ यी माथिका विकृति विसंगतिलाई सम्बोधन गर्न नसके लोकतन्त्र धरापमा प नपर्ला भन्न सकिँदैन ।


























