प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८१ बुधवार । सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा पक्राउ परि जेल चलान भएका तनहुँका एक व्यक्ति व्यक्ति ५० लाख धरौटीमा छुटेका छन् ।

रिहा हुनेमा तनहुँको साविक व्यास नगरपालिका वडा नं १०, हालको व्यास नगरपालिका वडा नं ३ का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई पोखरमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा शनिवार पक्राउ गरिएको थियो ।
उनीसँग कास्की जिल्ला अदालतले ५० लाख धरौटी माग गरेको थियो । माग बमोजिमको रकम आज बुझाएपछि दिउँसो ४ बजे श्रेष्ठ रिहा भएका नेकपा एमाले तनहुँका नेता श्रीराम कार्कीले प्रहार समाचारलाई बताए ।

प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।
























