हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

मृत्युपछि मानवअंग दान गर्न चाहने  परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्णय

प्रहार समाचार । काठमाडौं, ९ मंसिर २०८१ आइतवार । मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका छन्। यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई थप एक लाख दिने निर्णय गरेको हो। मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ। मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए।

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ।

‘एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं,’ मन्त्री पौडेलले भने। देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन्।मन्त्री पौडेल स्वयंलेसमेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button