प्रहार समाचार । तनहुँ ९ मंसिर २०८१ आइतवार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमि विश्वमाझ चिनाउन तनहुँको भानु नगरपालिकामा प्रथम भानु नगर महोत्सव २०८१ आयोजना गरिने भएको छ ।

“कला ,साहित्य ,शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान ”भन्ने मूल नाराका साथ भानु नगर उद्योग वाणिज्य संघको आयोजना र भानु नगरपालिकाको सहआयोजनामा महोत्सव आयोजना गर्न लागिएको हो । हिंजो भानुमा आयोजित पत्रकार सम्मेलन गर्दै आयोजका समितिले आगामी पौष ९ गते देखि १९ गते सम्म महोत्सव आयोजना गरिने जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनका प्रमुख अतिथी भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिकामा आयोजना गरिएको महोत्सव सफल बनाउन नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराखिने बताएका थिए । महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको समेत नगर प्रमुख त्रिपाठीको भनाई रहेको थियो । नगर प्रमुख त्रिपाठीले महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनको बिक्री वितरण र कला सँस्कृतिको प्रवद्र्धनमा विशेष ध्यान दिन समेत आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले भानु नगरपालिका क्षेत्रको आर्थिक,सामाजिक , साँस्कृतिक ,पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको बताएका थिए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिने समेत संयोजक श्रेष्ठको भनाई रहेको थियो ।
महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले महोत्सवमा कृषि प्रदर्शनी , साँस्कृतिक प्रदर्शनी , औद्योगिक लगायतका प्रदर्शनीहरु राखिने बताए । महोत्सवमा १ सय २० वटा स्टलहरु रहने छन् भने स्वदेशी र विदेशी पर्यटक गरी १ लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ। महोत्सव भानु नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणका लागि आयोजना गरिएको समेत प्रवक्ता श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा महासचिव कृष्णचन्द्र कोइरालाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने पत्रकार सम्मेलनमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे लगायत उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।























