प्रहार समाचार । तनहुँ, ८ मंसिर २०८१ शनिवार ।
पृथ्वीराजमार्ग मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाले निर्माण गरेको सडक ६ महिना पुरा नहुँदै भासिन पुगेको छ।

आयोजनाको पूर्वीखण्डले आँबुखैरेनी गाँउपालिका–२ माकीचोक नजिकै बबुवामा सडक शुक्रबार भासिएको हो । सडक २० मिटर दुरी सम्म पूर्णरुपमा भासिएको र आसपासको क्षेत्र पनि चर्किने क्रम बढ्दै गईरहेको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आसबहादुर गुरुङले जानकारी दिए । गुरुङले काम गुणस्तरीय गर्न आग्रह समेत गरेका छन् ।’ भर्खरै निर्माण भएको सडक भत्किएको छ लापरबाही भयो मापदण्ड पुरा गरि निर्माण गर्न माग राखेका छौं ।’ गुरुङले भने । पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले पानीको कारणले गर्दा सडक भत्किएको र पानी तर्काएर सडक पुनः निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिईसकेको बताए ।
‘ बिग्रिएको सडकको पुर्ननिर्माण हुन्छ त्यसमा स्थानीयले चिन्ता लिनु पर्दैन , फेरी बनाउन निर्देशन दिईसकेका छौं ।’ प्रमुख भण्डारीले भने

पूर्वी खण्डको कामका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।
पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको सात अर्ब ४) करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।

























