• विजय अधिकारी।( संवाददाता) प्रहार समाचार । लमजुङ ६ मंसिर २०८१ बिहिवार । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी कारबाही बाट आर्थिक बर्ष २०८०/०८१ मा ७२ लाख ६० हजार रुपैया राजस्व संकलन गरेको जनाएको छ ।

कार्यालयले एक बर्षमा १० हजार १ सय ८८ सवारी साधन कारबाहीबाट ७२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा भन्दा यस आर्थिक बर्ष २०८०/०८१ मा १ लाख ५ सय रुपैयाले बढी राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख प्रहरी सहायक निरीक्षक भीम वहादुर रानाभाटले बताए । उनका अनुसार-ट्राफिक नियमको उल्लंघन गरी सवारी साधन चलाउने सवारी चालक र सवारी धनीबाट जरिवाना बापत राजस्व संकलन गरिएको हो ।

आर्थिक बर्ष २०८०/०८१ को साउन देखि असार मसान्त सम्ममा ८ सय ८८ बस कारवाहीमा परेका थिए । जसबाट ६ लाख १८ हजार ५ सय रुपैयाँ राजश्व संङ्कलन भएको थियो । त्यसै गरि १३ सय २१ वटा ट्रक र टिपर कारबाहीबाट ९ लाख ४५ हजार ५ सय रुपैयाँ,३२ सय २८ कार/जीप कारबाहीबाट २२ लाख ८२ हजार रुपैया राजस्व संकलन भएको थियो ।
त्यसैगरी ३४ सय ५ मोटरसाइकल कारबाहीबाट २४ लाख ६० हजार ५ सय रुपैयाँ,७ सय ९५ ट्याक्टर कारबाहीबाट ५६ लाख ६ हजार रुपैया राजस्व संकलन भएको थियो भने अन्य ५ सय ५१ वटा सवारी साधन कारबाहीबाट ३८ लाख ७५ हजार ५ सय रुपैया राजस्व संकलन भएको लमजुङ जिल्ला ट्राफिक प्रमुख रानाभाटले प्रहार समाचारलाई जानकारी दिए ।

आर्थिक बर्ष २०७९/०८० मा १० हजार ५ सय ५० सवारी साधन कारबाहीबाट ७१ लाख ५९ हजार ५ सय रुपैया राजस्व संकलन भएको थियो । ट्राफिक प्रहरीले सवारी चालक, सह-चालक, सवारी धनी तथा यात्रुहरु र विद्यार्थीहरुलाई समय-समयमा ट्राफिक सप्ताहको क्रममा ट्राफिक नियम, सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी सहायक हवल्दार अच्युत विष्टले जानकारी दिए।

विष्टले भने- ‘समुदाय–प्रहरी कार्यक्रम अन्तर्गत घरघर तथा विद्यालय, कलेजमा, समुदायमा समेत ट्राफिक नियमको पालनाको बारेमा जानकारी गराउँदै आइरहेका छौँ ।’
























