प्रहार समाचार । तनहुँ, ६ मंसिर २०८१ विहिवार । तनहुँको व्यास नगरपालिका वडा नं १ , भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा क्याम्पसको शैक्षिक, आर्थिक र भौतिक अवस्थालाई सुधार्न दिर्घकालिन नीतिहरू लागू भएकाे स्ववियुले जनाएको छ।

स्ववियुको पहलमा क्याम्पसलाई विद्यार्थीमैत्री बनाउँदै आर्थिक र संरचनात्मक सुदृढीकरणमा नयाँ आयाम थपेको स्ववियु सभापति गौरव पन्थको भनाई छ।
‘स्थायी शिक्षकहरूको न्यूनतम शिक्षण समयलाई तीन पिरियडबाट चार पिरियडमा वृद्धि गर्ने नीति कार्यान्वयन भएको छ।’ – स्ववियु सभापति पन्थले भने । यसले क्याम्पसको वार्षिक ३० देखि ४० लाख रुपैयाँसम्म बचत गर्न सहयोग गर्दै, घट्दो विद्यार्थी संख्या र आर्थिक चुनौतीलाई सम्बोधन गर्ने काम भएको छ ।
यस्तै, छात्रवृत्ति प्रणालीमा सुधार गर्दै, न्यूनतम तीन महिनाको छात्रवृत्तिलाई चार महिना पुर्याइएको छ भने वितरण प्रतिशत ५ प्रतिशतबाट बृद्धि गरेर ७ प्रतिशत पुऱ्याइएको स्ववियुले जनाएको छ । यसले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको पढाइलाई थप सहज बनाएको स्ववियु सभापति पन्थको दाबी छ।
यसैगरि स्ववियुको पहलमा क्याम्पसमा खानेपानीको अभावलाई दीर्घकालीन सोचका साथ खानेपानीको उचित प्रबन्ध गरिएकाले क्याम्पस तथा समुदायलाई खानेपानीको आधारभूत सुविधा उपलब्ध गराउँदै शैक्षिक वातावरण सुधार्न योगदान पुर्याएको ठम्याई स्ववियुको रहेको छ।

























