प्रहार समाचार । काठमाडौँ ३० असार २०८१ आईतबार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हुन्। नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ भोली बिहान ११ बजे शितल निवासमा हुनेछ। गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सहमति भएको थियो। त्यसपछि एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए।

त्यसको केही घन्टाभित्रै कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७८ जना सांसद छन्। यसबीचमा राष्ट्रपति पौडेलले दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए।
























