हेडलाईनसमाचारबागमतीखेलकुद

नेपाल र चीन  बीच आज भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको विजयी

प्रहार समाचार । काठमाडौ, माघ  २७ शनिवार ।तेइस वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोली र चीनको प्रान्तीय टोली छिङ हाई युसुबीच आज भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित उक्त खेलमा तिब्बतबाट नेपाल भ्रमणमा आएका चीनको प्रान्तीय टोली छिङ हाई युसु टोलीमाथि नेपालले ५-१ को जित निकाल्यो ।  नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक-एक गोल गरे । सञ्जीवले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३९औँ मिनेटमा समिरले गोल गरेपछि नेपालले खेलको पहिलो हाफमा नै २-० गोलको अग्रता बनाउन सफल भयो । 

त्यसपछि खेलको ५४औँ मिनेटमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । खेलको ६३औँ मिनेटम छिरिङको गोलमा नेपालले ४-० गोलको अग्रता बनायो ।  खेलको ७५औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ५-० को गोलको अग्रता बनाए । खेलको ७८औँ मिनेटमा चीनका पेङ्गकोउले एक गोल फर्काए । त्यसपछि खेलको निर्धारित समयसम्म गोल हुन सकेन र नेपालले चीनविरुद्ध ५-१ को जित निकाल्न सफल भयो । 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भएको उक्त खेलमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो । उक्त मैत्रीपूर्ण खेल सुरु हुनुअगाडि विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । सेतोपाटी


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button