हेडलाईनसमाचारप्रदेश

नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य रहेको राष्ट्रपति पौडेलको भनाई

प्रहार समाचार । काठमाडौँ, माघ २२ सोमवार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको बताए ।


राष्ट्रपति पौडेलले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमूना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताए। “विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप हो”, राष्ट्रपति पौडेलले भने ।

नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सिर्जनामा नातिकाजीले पुऱ्याउनुभएको योगदान अतुलनीय रहेको स्मरण गर्दै नेपाली गीत सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने श्रष्टालाई राज्यको तहबाटसमेत उचित महत्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको राष्ट्रपतिको भनाई थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विभिन्न महानुभावहरुलाई प्रदान गरे । सो अवसरमा कलाकारहरुले विभिन्न गीत प्रस्तुत गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button