प्रहार समाचार । तनहुँ, माघ १५ सोमवार । जिल्लाको आँबुखैरेनी गाउँपालिले सुकुम्बासीलाई लालपूर्जा वितरण कार्य सुरु गरेको छ ।
जिल्लामा नै पहिलो पटक आँबुखैरेनी गाउँपालिका–२ का १३ घर सुकुम्बासीलाई सोमवार लालपूर्जा वितरण गरिएको हो । तनहुँ क्षेत्र नं १ प्रदेश सभा ‘ख’ का सांसद एवं पूर्व प्रदेशमन्त्री हरि बहादुर चुमानले सुकुम्बासीहरुलाई लालपुर्जा हस्तान्तरण गर्दै पालिकाका अन्य वडाका भूमिहिनले पनि निकट भविष्यमा लालपूर्जा पाउने बताए ।

आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जिल्लाका अन्य पालिकाहरुमा पनि क्रमशः लालपूर्जा वितरण गर्ने कामलाईलाई अगाडी बढाइने बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनता माझ भोट माग्दाका दिन देखि आफुले चुनाव जिते सुकुम्बासीलाई लालपूर्जा बाँड्छु भनेर वाचा गरे बमोजिम यो बाचा आज आएर पूरा भएको बताए । करिब दुई वर्षअघि स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुँदा अध्यक्ष चुमानले नागरिक सामु सुकुम्बासी लाई पूर्जा उपलब्ध गराउने वाचा गरेका थिए। पालिका अध्य चुमानले क्रमिक रुपमा अरु वडाहरुको प्रक्रिया पूरा भएपछि पूर्जा वितरण गरिने प्रतिबद्धता गरेका थिए ।

पालिकाको कार्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बिच ऑबु २ का सुकुम्बासीहरुलाई जग्गा धनि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले क्रमश जिल्ला भरि रहेका भूमिहिन सुकुम्बासीहरुलाई पूर्जा वितरण गरिने बताए ।

आयोगको गत पुस २३ को निर्णय अनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अवसरमा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत सेवा केन्द्र प्रमुख इन्जिनियर निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। पूर्जा पाउँदा सुकुम्बासीहरु हर्षित भएका थिए ।


























