प्रहार समाचार | काठमाडौं, कार्तिक२१ मंगलबार ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सुझाव दिएको छ ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसहित बालुवाटारस्थित निवास पुगेका थिए ।कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि तत्कालीन र अल्पकालीन उपायहरुबारे सुझाव दिएको छ ।
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता-कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डलाई भनेको छ । यी अत्यावश्यक सामग्रीहरु अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा कृयाशिल राजनैतिक दलहरु र संघ-संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव समेत दिएको छ ।राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने कांग्रेसको राय छ ।
























