प्रहार समाचार कार्तिक २० सोमबार ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थलिएको छ।
तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो। आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको जनाइएको छ।
पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ।
आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ। पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ। यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ।
राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ। यस खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ। यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।
४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ।चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ।
दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।




















