प्रहार समाचार । लुम्बिनी ,कार्तिक १४ मंगलबार ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बुद्ध जन्मस्थल लुम्बिनी पुगेकाछन् ।
तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी पुगेकाहुन । हेलिकोप्टरमा लुम्बिनी पुगेपछि गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारी, विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले स्वागत गरेका थिए ।
महासचिव गुटेरेसको भ्रमणलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था बलियो बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्र संघका छैटौं महासचिव हुन् । राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा लुम्बिनी भ्रमण गरेका थिए । ऊ थान्तको भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको सुरुआत भएको मानिन्छ ।
जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तकै आग्रहमा सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार गरेका हुन् ।
महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।




















