लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशबागमती

आस्था, तपस्या र सूर्य उपासनाको महापर्व छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै बर्तालु

प्रहार समाचार । काठमाडौँ, २९ कात्तिक २०८३ आइतबार । प्रकृतिप्रति कृतज्ञता, सूर्यप्रतिको अगाध आस्था र पारिवारिक सुख–समृद्धिको कामनासहित मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।

चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वमा व्रतालुहरू दिनभर निराहार उपवास बसेर साँझ पवित्र जलाशय, नदी, तलाउ तथा पोखरीका किनारमा उभिएर अस्ताउँदो सूर्यको पूजा आराधना गर्छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ केवल धार्मिक कर्मकाण्डमा सीमित पर्व होइन, सूर्य, जल, प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्ने मौलिक सांस्कृतिक परम्परा पनि हो । उदाउँदो सूर्यलाई मात्र होइन, अस्ताउँदो सूर्यलाई समेत समान श्रद्धाका साथ अर्घ्य दिने यस पर्वले शक्ति, वैभव र सफलताको समयमा मात्र होइन, जीवनका कठिन र कमजोर क्षणमा पनि कृतज्ञता र श्रद्धा कायम राख्नुपर्ने सन्देश दिन्छ ।छठ पर्वको धार्मिक तथा पौराणिक महत्त्व महाभारत र सूर्य पुराणसँग जोडिएको छ ।

महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । त्यस्तै, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक मान्यता छ । भगवान् श्रीकृष्णका पुत्र साम्बले सूर्यको आराधनाबाट कुष्ठरोगबाट मुक्ति पाएको प्रसङ्गले पनि सूर्य उपासनाको महत्त्वलाई उजागर गर्छ । यी पौराणिक कथन र जनविश्वासले छठलाई आस्था, विश्वास र तपस्याको विशिष्ट पर्वका रूपमा स्थापित गरेका छन् । सूर्यको प्रकाशबिना पृथ्वीमा जीवनको अस्तित्व सम्भव नहुने वैज्ञानिक यथार्थसँग पनि यो पर्वको प्रकृतिपूजक दर्शन जोडिएको छ ।दुःख, दरिद्रता र रोगव्याधिबाट मुक्ति मिल्ने तथा परिवार र सन्तानको सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वासका साथ लाखौँ श्रद्धालु छठको कठोर व्रतमा सहभागी हुन्छन् ।

झुप्पा–झुप्पा फलफूल, ठेकुवा, प्रसाद र अन्य पूजासामग्री सूर्यदेवलाई अर्पण गर्दै गरिने उपासनाले परिवार, समाज र प्रकृतिप्रतिको सामूहिक सद्भावसमेत प्रकट गर्छ । छठको अर्को विशिष्ट पक्ष भनेको व्रत बस्न नसक्नेले पनि अरूमार्फत आफ्नो मनोकामना व्यक्त गर्ने धार्मिक परम्परा हो । जात, वर्ग र आर्थिक हैसियतभन्दा माथि उठेर सबैलाई एउटै घाटमा उभ्याउने यस पर्वले समानता, सहिष्णुता र सामाजिक एकताको सन्देश दिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने आजको सन्ध्याले आस्थाको शक्ति र प्रकृतिप्रतिको सम्मानलाई पुनः स्मरण गराउँदै छठ पर्वको धार्मिक गरिमा थप उजागर गरेको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button