हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

१९ वर्षदेखि फुटबलको विरासत जोगाउँदै ग्यालेक्सी युवा क्लब, रनिङ कपको तयारी ८० प्रतिशत पूरा

प्रहार समाचार । तनहुँ, १७ कात्तिक । सामान्य युवा क्लबको निरन्तरता, स्थानीय खेलकुदप्रतिको प्रतिबद्धता र फुटबल विकासको अभियानलाई १९ वर्षदेखि जोगाउँदै आएको ग्यालेक्सी युवा क्लब व्यास–६, शिशाघाटले स्व. जीतबहादुर दुरा र देशमान दुरा स्मृति रनिङ कप ७ ए साइड फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ।

क्लबको १९औँ वार्षिकोत्सवका अवसरमा आगामी मंसिर ४ गतेदेखि शिशाघाट खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको अध्यक्ष भान सुब्बा दुराले जानकारी दिए।

खेलमैदान सम्याउने तथा सरसफाइ गर्ने, गोलपोस्ट निर्माण तथा व्यवस्थापन, खेल सामग्री जुटाउने, टिम दर्ता, खेल तालिका निर्माण र निर्णायक तथा स्वयंसेवक परिचालनलगायतका काम अन्तिम चरणमा पुगेका छन्।प्रतियोगितालाई केवल जितहारको प्रतिस्पर्धा नभई स्थानीय प्रतिभा पहिचान र नयाँ खेलाडी उत्पादनको मञ्च बनाउने आयोजकको लक्ष्य छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले मंसिर ३ गतेसम्म सात हजार रुपैयाँ टिम दर्ता शुल्क र थप एक हजार रुपैयाँसहित दर्ता गराउनुपर्नेछ। मैदान व्यवस्थापनदेखि आर्थिक तथा प्राविधिक तयारी, प्रचारप्रसार र पुरस्कार व्यवस्थापनसम्मका कामलाई तीव्रता दिइएको क्लबले जनाएको छ।१९ वर्षसम्म निरन्तर प्रतियोगिता सञ्चालन गर्नु नै क्लबको खेलकुदप्रतिको समर्पण र स्थानीय युवाको सामूहिक प्रयासको परिचय भएको अध्यक्ष दुराको भनाइ छ। उनले प्रतियोगितालाई उपाधि जित्ने प्रतिस्पर्धामा मात्र सीमित नराखी स्थानीय फुटबल प्रतिभा उजागर गर्ने, नयाँ खेलाडीलाई अवसर दिने र स्व. जीतबहादुर दुरा तथा देशमान दुराको योगदानलाई स्मरण गर्ने अभियानका रूपमा अघि बढाइएको बताए।

खेलकुदको विकासमा समुदाय, युवा र खेलप्रेमीको साथ अपरिहार्य रहेको उल्लेख गर्दै उनले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन सबैलाई सहयोगको आह्वान गरेका छन्। टिम दर्ता तथा थप जानकारीका लागि ९८१५१८०८८३, ९८२०६५६६२६, ९८१५१५८१९७, ९८२९१५४५६८ तथा प्रतियोगिता संयोजकको नम्बर ९८२४१४९५२२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button