प्रहार समाचार । तनहुँ, ८ असोज२०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट जनजाति महिलातर्फ पञ्चमाया गुरुङले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेकी छन्। बन्दीपुर गाउँपालिका–४ की गुरुङ हाल बन्दीपुर गाउँपालिकाकी उपाध्यक्षसमेत हुन् ।

कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढिरहेको अवस्थामा क्षेत्र नं. १ मा उनको उम्मेदवारीले जनजाति तथा महिला प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ। कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। नेपाली कांग्रेसमा गुरुङले आदिवासी जनजातिका मुद्दालाई पार्टीको नीति र निर्णय तहसम्म प्रभावकारी रूपमा उठाउने तथा महिलाको हकहित र समान सहभागितालाई प्राथमिकतामा राख्ने बताएकी छन्। उनका अनुसार राजनीतिक तथा सामाजिक संरचनामा महिलालाई पछाडि पार्ने अवस्थाको अन्त्य गर्दै महिलालाई समान अवसर र अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

महिलाहरू सचेत, सक्षम र निर्णय प्रक्रियामा सक्रिय भए मात्रै परिवार, समाज हुँदै मुलुकमा सकारात्मक परिवर्तन सम्भव हुने उनको धारणा छ। गुरुङले आफ्नो राजनीतिक दृष्टिकोणलाई नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आदर्श, मूल्य र मान्यतासँग जोड्दै लोकतन्त्र, सामाजिक न्याय र समान अवसरका आधारमा पार्टीलाई अघि बढाउनुपर्ने बताएकी छन्। जनजाति समुदाय तथा महिलाको आवाजलाई केवल प्रतिनिधित्वमा सीमित नराखी पार्टीको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउनुपर्ने उनको जोड छ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने कांग्रेसको कार्यतालिका रहेकाले तनहुँ क्षेत्र नं. १ मा पनि प्रतिनिधिका आकांक्षीहरूबीच प्रतिस्पर्धा बढ्दै गएको छ। जनजाति महिलातर्फबाट अघि सरेकी गुरुङले आफ्नो उम्मेदवारीलाई समान सहभागिता, महिला अधिकार र जनजाति समुदायका मुद्दासँग जोडेर मत माग्ने आधार बनाएकी छन्।





















