प्रहार समाचार । तनहुँ, ३ माघ २०८२ शनिबार । सबै सपना ठूला मञ्च, पुरस्कार र नामका लागि हुँदैनन्। केही सपना त केवल मन शान्त पार्न, आफूभित्रको खुसी जोगाइराख्न जन्मिन्छन्। तनहुँको दमौलीमा बसोबास गर्ने गल गुरुङको कला यात्रा यस्तै एउटा सरल तर गहिरो सन्देश बोकेको कथा हो।

शान्त स्वभावका गुरुङका लागि चित्रकला कुनै पेशा होइन, दैनिकीको हिस्सा हो। “मन थाक्यो भने कागज र सिसाकलम खोज्छु,” उनी भन्छन्, “रेखा कोर्दै जाँदा तनाव आफैँ हराउँछ।” यही सादगीमा उनको कलाको शक्ति लुकेको छ।
२०४९ सालतिर आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा अध्ययनरत रहँदा गुरुङ पढाइसँगै चित्रकलामा रमाइरहन्थे। उनका साथीहरू कापीमा नोट बनाउँथे भने गुरुङका कापीका खाली पानामा प्रकृति, दृश्य र मानिसका अनुहारहरू जीवन्त बन्थे। त्यो समय उनका लागि कापी नै क्यानभास थियो।
विद्यालय जीवनदेखि नै चित्रकलाप्रति रुचि राख्ने गुरुङ कुचि र कागजसँग घण्टौँ बिताउन रुचाउँथे। यही रुचिले उनलाई निरन्तर अभ्यासमा बाँध्यो। पछिल्ला १५ वर्षभन्दा बढी समयदेखि उनी यथार्थपरक (रियलिस्टिक) चित्र बनाउँदै आएका छन्। उनका चित्रहरूमा अनुहार मात्रै होइन, भाव पनि स्पष्ट देखिन्छ ।

आफ्नै आमाको तस्बिरदेखि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका नव–निर्वाचित सभापति गगन थापा, व्यास नगरपालिका–६ का वडा अध्यक्ष जीवन गुरुङ (कुमार), नेता शंकर भण्डारीलगायत दर्जनौँ व्यक्तिहरूका तस्बिर उनले दुरुस्तै कोरेका छन्। अधिकांश चित्र उनले सम्मान र आत्मीयताका प्रतीकका रूपमा उपहारस्वरूप दिएका छन् ।


भानु नगरपालिका–१३, रयाले बरखोलामा जन्मिएका गुरुङ हाल व्यास–४, दमौलीमा बसोबास गर्दै आएका छन्। उनी जिल्ला समन्वय समितिका निवर्तमान सदस्य तथा प्रवक्ता रहिसकेका छन् भने आदिकवि भानुभक्त क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सदस्यका रूपमा पनि परिचित छन्। सार्वजनिक जीवन र व्यक्तिगत रुचिलाई सन्तुलनमा राख्न सक्नु उनको अर्को विशेषता हो।


ठूला प्रदर्शनी, पुरस्कार वा व्यवसायिक पहिचानभन्दा पनि आत्मसन्तुष्टिलाई प्राथमिकता दिने गुरुङका लागि कला मनको साथी हो। “कलाले धैर्य सिकाउँछ, आफूभित्र फर्किन मद्दत गर्छ,” उनी भन्छन्। औपचारिक तालिम बिना पनि निरन्तर अभ्यास, रुचि र समर्पणले कसरी जीवनलाई सुन्दर बनाउँछ भन्ने उदाहरण बनेका गल गुरुङ आज धेरै युवाका लागि प्रेरणा बनेका छन्। उनको कथा यही सन्देश दिन्छ—सफलता सधैं बाहिर देखिनु पर्दैन, कहिलेकाहीँ त्यो मनभित्र शान्त भएर बसेको हुन्छ।


























