
‘सुशासन उज्यालो हो, गरिबको बाँच्ने आधार हो, न्यायको जग हो, देशको सुरक्षाको ढाल हो, विकासको लहर हो, नेपालीको अधिकार हो। तर हामीले यी सबैलाई समाप्त गरिसक्यौँ। त्यसैले सुशासनलाई अब दुःख दिएर के फाइदा ? अग्रगमनका नाममा हामी यो सब खरानी पार्न विद्युत शवदाह गृह तर्फ लागेका हौँ। माथिबाट यही निर्देशन छ। अब खरानी पार्ने काम पनि वैज्ञानिक र वैदेशिक सहयोगसहित गर्छौँ।’ भन्दै डा. प्रकाशचन्द्र लोहनी लेख्छन् :
बिहानपख म पशुपतिनाथको दर्शन गर्न निस्किएको थिएँ। “एक पन्थ दुई काज” — स्वास्थ्यको लागि पनि राम्रो, आस्थाको लागि पनि लाभ। बाटोमा एक समूह मानिसले पहेँलो कपडाले बेरिएको लास बोकेका देखेँ। मनमा लाग्यो— यो कसको लास होला? तर आँखामा भ्रम परेजस्तो भयो; कपडामुनिबाट कोही उठ्न खोजेजस्तो बारम्बार देखिन्थ्यो।
म अलमलमा परेँ। नजिक पुगेपछि अचम्म लाग्यो— त्यो कपडामा “सुशासन मरेको छ” भनेर लेखिएको रहेछ। लास होइन, मानौँ एउटा विचारको मृत्युको घोषणा।
कपडामुनि हलचल भइरहेको देखेर मैले सोधेँ— “यो के हो? को मरेको?”
बाँसको चिर्पट बोकेको एक मलामीले भन्यो— “देख्नुभएन र? हामी मलामी लास जलाउन हिँडेका।”
मैले सोधेँ— “लास रे ? कपडामा त ‘सुशासन मरेको छ’ लेखिएको छ, यो के मजाक हो ?”
त्यही बेला अर्को मलामी भट्भटे माइला भन्यो—
“बुझ्न गाह्रो छ र? मान्छे मरेको होइन, मान्छेको विवेक मरेको छ। इमान मरेको छ, सिद्धान्त मरेको छ, विचार मरेको छ, देशप्रतिको माया मरेको छ। यस्तो भयावह मृत्युपछि आर्यघाट नगई कहाँ हुन्छ?”
मैले तर्क गरेँ— “तर सुशासन त मरेको छैन, हेर्नुस् न, कपडामुनि अझै हलचल गर्दैछ।”
त्यसपछि बाङ्गे जेठो बोल्यो—
“त्यो वास्ता नगर। सुशासन त शवगृह पुगुञ्जेलमा नै मरिसक्छ। गौशाला आइसक्यौँ, अब सात मिनेट मात्रै बाँकी छ।”
म अझै अनिश्चित थिएँ। चौथो मलामी हुण्डरी कान्छाले मलाई हेर्दै भन्यो—

“सुशासन उज्यालो हो, गरिबको बाँच्ने आधार हो, न्यायको जग हो, देशको सुरक्षाको ढाल हो, विकासको लहर हो, नेपालीको अधिकार हो। तर हामीले यी सबैलाई समाप्त गरिसक्यौँ। त्यसैले सुशासनलाई अब दुःख दिएर के फाइदा ? अग्रगमनका नाममा हामी यो सब खरानी पार्न विद्युत शवदाह गृह तर्फ लागेका हौँ। माथिबाट यही निर्देशन छ। अब खरानी पार्ने काम पनि वैज्ञानिक र वैदेशिक सहयोगसहित गर्छौँ।”
विद्युत शवदाह गृह नजिक पुगेपछि दृश्य बदलियो। सयौँ युवाहरू राष्ट्रिय झण्डा बोकेर बाटोमा उभिएका थिए। उनीहरूको आँखामा आगो थियो। उनीहरू गर्जिए—
“खबरदार! सुशासन जलाउन पाइँदैन!”
हजारौँ जनताको भीडले चार मलामीलाई रोके। जनता एक स्वरमा चिच्याए—
“नवसामन्तवादी कालरात्रीको अन्त गर्छौँ!”
“कुशासनका नाइकेहरुलाई अदालत पुर्याउँछौँ!”
त्यसैबेला पूर्व–पश्चिम, उत्तर–दक्षिण सबै दिशाबाट हुरी आयो। म आँखा बन्द गर्न बाध्य भएँ। केही क्षणपछि आँखा खोलेँ— कपडामा नयाँ अक्षरहरू चम्किरहेका थिए—
“जनता कहिल्यै हार्दैन, नवसामन्तवाद कहिल्यै उज्यालो हुन सक्दैन।”
चारै तिर शान्ति छाएको थियो। बागमती नदी आफ्नै गतिमा बगिरहेको थियो। नदीको पानी असाध्यै सफा थियो— तलको बालुवा चम्किलो, उज्यालो र प्रसन्न देखिन्थ्यो। पशुपतिनाथ मन्दिर स्लेस्मान्तक वनको दिशातिर घुमिरहेको थियो। म हात हल्लाउँदै घर फर्किएँ—
मनमा एकै कुरा गुञ्जियो, “सुशासन मरेको होइन, पुनर्जन्मको तयारीमा छ।”
(• डा. लोहनीका यि समसामयिक बिचारहरु हामीले उनको फेसबुक पेजबाट लिएर सम्पादन गरेर प्रकाशित गरेका हौं – सम्पादक । ) १७ कात्तिक २०८२ सोमवार ।



























