
‘यौन स्वाभाविक कुरा हो, तर सभ्यताको विकाससँगै यसमा मर्यादा, समझदारी र जिम्मेवारी जोडिएको छ। पुर्खाहरूले साइनो र हाडनाताको सीमा बनाएर समाज चलाएका थिए। तर आज शिक्षित भनिने केही मानिसहरू सामाजिक सञ्जालमा महिलामाथि अश्लील भाषा प्रयोग गर्दै, सभ्यताको नाममा असभ्यताको प्रदर्शन गरिरहेका छन्।’ भन्दै दिल निशानी मगर लेख्छन् :
मनोज गजुरेलले मिना ढकालसँग वैवाहिक सम्बन्ध अन्त्य गरेपछि, धेरैले मिनालाई “पागलनी” भनेर व्यङ्ग्य गरे। विष्णु सापकोटाले एलिनासँग सम्बन्ध तोडेपछि, उनलाई “बहुलिनी” भनियो। रवि लामिछानेकी पूर्वपत्नी ईशा लामालाई समेत “कुकुरनी” भन्नेहरू देखिए। केही समयअघि टिकटकमा गायिका साङबुङको लाइभ हेर्दा, अनेक मानिसहरूले उनीमाथि “मसँग स आइज” भन्ने जस्ता अभद्र टिप्पणी गर्दै गरेको देख्दा मन खिन्न भयो।
आज पनि हाम्रो समाजमा महिला–पुरुषबीचको सम्बन्ध टुट्दा दोष र कलङ्कको भारी प्रायः महिलामाथि मात्र पर्छ। गाउँघरमा असंख्य पुरुषहरू वैवाहिक सम्बन्ध तोडेर फरक जिवन बाँचिरहेका छन्, तर समाजले तिनलाई कहिल्यै “टोकुवा पुरुष” भनेर गाली गरेको सुन्न पाइँदैन। तर एउटी महिला स्वतन्त्र जीवन बाँच्न खोजेकी केटी भने तुरुन्तै अपमानको शिकार बन्ने गर्छिन्।
🔹 इतिहासले के भन्छ ?
कहिलेकाहीँ लाग्छ — पुर्खाहरूले सती प्रथा किन चलाएका रहेछन्, विधवाहरू किन आफ्नै ज्यान बलिदान गर्न तत्पर हुन्थे?
शायद उनीहरूलाई समाजको कठोर दृष्टिले बाँच्छु भन्ने आत्मविश्वास नै मार्थ्यो। आज हामी २१औँ शताब्दीमा, प्रविधि र चेतनाको युगमा छौँ। तर महिलाप्रतिको दृष्टिकोणमा भने हामी अझै आदिम सोचमै अड्किएका जस्ता छौँ।
१२१५ मा इंग्ल्यान्डले Magna Carta जारी गर्दै “राजा पनि कानुनको अधीन हुन्छ” भन्ने सिद्धान्त स्थापित गर्यो। तर आज नेपालजस्तो लोकतान्त्रिक देशमा समेत महिलामाथि हुने शब्दीय हिंसा, चरित्रहत्या र अश्लील व्यवहारमा न समाजको नैतिकता जागेको छ, न कानुनले पर्याप्त हस्तक्षेप गरेको छ।
🔹 सभ्यताको नाङ्गो रुप
केही समयअघि दुर्गा प्रसाईंले तत्कालीन प्रधानमन्त्री सुशिला कार्कीप्रति अत्यन्त असभ्य टिप्पणी गरे — “बसेर शौच गरेपछि उठ्न सक्दिनन्”, “फरिया उचालेर …पर्छ” आदि। यस्ता कुरा कुनै व्यक्ति होइन, सम्पूर्ण महिला समुदायमाथिको अपमान हुन्।
त्यसैगरी, एक महिला चिकित्सकले यौनस्वास्थ्यबारे अनलाइन मिडियामा जनचेतनामूलक कुरा राख्दा, धेरै युवाहरूले “पहिले मसँग सम्बन्ध राख, अनि तिम्रो कुरा पत्याउँछु” जस्ता अभद्र टिप्पणी गरे। प्रधानमन्त्रीदेखि चिकित्सकसम्मका महिलाहरू अपमानको सिकार बन्ने समाजमा, मनोरञ्जन क्षेत्रकी एलिना चौहान वा साङबुङलाई सम्मान मिल्ने अपेक्षा कसरी गर्न सकिन्छ ?

🔹 विवाह र स्वतन्त्रताको अर्थ
विवाह कुनै धार्मिक जादू होइन; यो सामाजिक सहमति र पारिवारिक सहकार्यको एउटा संस्था हो। यो संस्था अन्त्य भएपछि पनि महिला स्वतन्त्र रूपमा आफ्नो जीवन बाँच्न सक्छिन् — उनले आफ्नो इज्जत गुमाउँदिनन्। बरु उनी पुनः आफ्नै परिवार, साथीभाइ र समाजको साथमा उभिन्छिन्।
यौन स्वाभाविक कुरा हो, तर सभ्यताको विकाससँगै यसमा मर्यादा, समझदारी र जिम्मेवारी जोडिएको छ। पुर्खाहरूले साइनो र हाडनाताको सीमा बनाएर समाज चलाएका थिए। तर आज शिक्षित भनिने केही मानिसहरू सामाजिक सञ्जालमा महिलामाथि अश्लील भाषा प्रयोग गर्दै, सभ्यताको नाममा असभ्यताको प्रदर्शन गरिरहेका छन्।
🔹 सोच बदल्ने बेला आएको छ
यो केवल एलिनाको वा कुनै एक व्यक्तिको कथा होइन।
यो हाम्रा घर–घरको कथा हो — जहाँ महिलाको आवाजलाई ठट्टा बनाइन्छ, चरित्रलाई मनोरञ्जनको विषय बनाइन्छ। हामीले “कलीयुग” भनेर दोष देवतामाथि थोपर्ने होइन, आफ्नै चेतनालाई सुधार्ने समय आएको छ। समाज तब मात्र सभ्य हुन्छ, जब महिला र पुरुष दुवैलाई समान मर्यादामा हेर्ने दृष्टि विकसित हुन्छ।
( • मगरको यो व्यक्तिगत बिचार उनको फेसबुक पेजबाट सम्पादन गरेर लिएका हौँ । यो बिचारमा कतिपय शब्दहरु नेपाली भाषाका झर्रा शब्दहरु अश्लिल जस्तो लाग्ने पनि रहेका छन् जुन हटाउन सकिएन ) – सम्पादक



























