‘नेपालमा यति धेरै लेखक, प्रकाशक र पाठक हुँदाहुँदै पनि किन गुणस्तरीय पुस्तकको सृजनामा कमी देखिन्छ? किन यो स्वर्णकाल बन्नुपर्ने समय उल्टो पुस्तकमै वितृष्णा जन्माउने युग हुँदै गएको छ?’ भन्ने प्रश्न गर्दै चेतनपथ माधव लेख्छन् :

हालको एक वर्षमा नेपाल तथा विदेशमा नेपाली भाषामा अनुमानित एक हजारभन्दा बढी पुस्तक प्रकाशित भएका छन्। यति ठूलो संख्यामा पुस्तकहरू निस्कँदा पनि तीमध्ये ९९ प्रतिशत कृति लोकार्पणकै दिनदेखि चुपचाप चिरनिद्रामा सुत्छन्। यस्ता कृति न त पाठकको ध्यान तान्न सफल हुन्छन्, न त साहित्यिक मूल्य निर्माणमै।
कतिपय कृति आफन्त वा मित्रहरूले “राम्रो छ” भनेर चिल्लो घसिदिन्छन्। कहिलेकाहीं अपवादका रूपमा एक प्रतिशत पुस्तक मात्रै चम्किन्छन्। तर ती पनि बाँकी ९९ प्रतिशतको भारले थिचिएर ओझेलमा पर्छन्। यो अवस्था बिचल्ली हो, सृजनाको अपमान हो।
कहाँ चुक्दैछौं हामी?
नेपालमा यति धेरै लेखक, प्रकाशक र पाठक हुँदाहुँदै पनि किन गुणस्तरीय पुस्तकको सृजनामा कमी देखिन्छ? किन यो स्वर्णकाल बन्नुपर्ने समय उल्टो पुस्तकमै वितृष्णा जन्माउने युग हुँदै गएको छ?
सम्भावित कारणहरू:
१. मापदण्डको अभाव
नेपाली पुस्तकमा गुणस्तरको स्पष्ट मापदण्ड बनिनसकेकोले धेरै कृति स्तरहीन बन्छन्। यसले पाठकलाई नै पुस्तकप्रति निराश बनाइदिन्छ।
२. संख्यामा जोड, गुणस्तरमा होचोपन
“मेरो यति वटा पुस्तक प्रकाशित भइसके” भन्ने देखावटी मानसिकता साहित्यको मूल मर्ममाथि प्रहार हो।
३. आत्मरतिमा रमाउने प्रवृत्ति
आफ्नै लेखाइको आत्मप्रशंसा गर्दै रमाउने लेखकहरूको संख्या बढ्दो छ।
४. परनिर्भरताको संस्कार
पैसा तिरेर लेखाउने प्रवृत्तिले लेखनलाई औपचारिकतामा सीमित तुल्याइदिएको छ। वास्तविक सिर्जनशील लेखकले त आफ्नो नाम आफैं लेख्छ, होइन र?
५. व्यक्तिगत कुण्ठा र पीडालाई साहित्य बनाउने प्रवृत्ति
परिवार, मित्रता वा प्रेम सम्बन्धको विफलतालाई किताबमा पोख्ने चलन बढ्दो छ, तर यस्ता रचना सामान्य पाठकसम्म पुग्न सक्दैनन्।

६. ईर्ष्याको खेतीमा साहित्य
सकारात्मक प्रेरणाभन्दा पनि अरूप्रतिको ईर्ष्याबाट लेखिएको कृति कहिल्यै दीर्घजीवी हुँदैन।
७. अध्ययनको अभाव
लेखकले अरूको नपढ्ने, आफूलाई मात्र प्रशंसा गर्ने प्रवृत्तिले विचारको खडेरी ल्याइरहेको छ।
८. साहित्यमा गुटबन्दी
“तँ लेख, प्रचार हामी गरिदिन्छौं” भन्ने गुटहरूको विकासले साहित्यमा राजनैतिक शैली ल्याएको छ।
९. विधागत विभाजन
साहित्य विधागत समूहमा टुक्रिनु सृजनात्मक संवादको बाधक बनेको छ।
१०. ‘एउटा किताब लेखौं न’ भन्ने मनोवृत्ति
टिकाउ लेखन नभइ केवल सपना पुरा गर्न लेखिएका पुस्तकहरूले बजार भरिएको छ।
११. अनावश्यक प्रशंसा
स्तर नपुगेका पुस्तकहरूलाई गुटगत समर्थनले बढाइचढाइ गरिँदा पाठक धोका खान बाध्य हुन्छन्।
१२. अराजक पुरस्कार–सम्मान
साहित्यमा मूल्यांकनभन्दा पहुँचको आधारमा दिइने सम्मानले वास्तविक सृजनालाई ओझेलमा पारिरहेको छ।
अब के गर्ने?
अबको आवश्यकता गुणस्तर, आलोचना, अध्ययन र संवादको हो। लेखन केवल आत्मसन्तुष्टिका लागि होइन, समाजका लागि होस्। नत्र पुस्तकमाथिको विश्वास गुम्दै जानेछ, र एकदिन पाठक पनि हराउनेछन्।
( • माधवले आफ्नो फेसबुक पेजमा राख्नु भएको विचारलाई प्रकाशनको दृष्टिले सम्पादनगरि प्रकाशित गरिएको छ। – सम्पादक)

























