• विजय अधिकारी (संवाददाता) काठमाडौं, १४ बैशाख २०८२ आइतवार । नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै भने -‘हामी शिक्षक हौं, लाठी छैन, केही छैन। शान्त आन्दोलनमा घुसपैठ गराएर सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, सरकारका हजुरबाबु सरकामा आए पनि दमन गर्न सक्दैन ।”

अध्यक्ष सुवेदीले भने “हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छन् । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।”
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भए पछी प्रहरीले पानीको फोहरा र लाठी प्रहार गर्दा दर्जनौं शिक्षक घाइते भएका छन । सरकारले आन्दोलनमा बल प्रयोग गरे पछि शिक्षकहरू झन आक्रोशित भएका र “भोलि यो भन्दा तीन गुना शिक्षक कर्मचारी भेला हुनेछन् । अब हामी पनि आउँछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालेका छन ।”अध्यक्ष सुवेदीले भने ।

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनलाई “अन्तिम र निर्णायक धक्का” दिनुपर्ने अवस्था आएको भन्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीलाई राजधानी आउन आह्वान गरेको छ ।

आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने कार्य कतिपय स्थानीय तहबाट भएको महासंघले जनाएको छ। संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न स्थानीय तहलाई आग्रह गर्दै महासंघले यस्ता गतिविधिबाट विचलित नहुन सबै शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ । महासंघले आन्दोलनलाई निर्णायक बनाउँदै शिक्षकको हकहित सुनिश्चित गर्न सम्पूर्ण शिक्षक कर्मचारीलाई साथ दिन आह्वान गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै ‘अग्रगामी ऐन’ जारी गराउन अन्तिम धक्का आवश्यक भएको उल्लेख छ । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक-मैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघले दाबी गरेको छ ।


























