प्रहार समाचार । तनहुँ , १३ मंसिर २०८१ बिहीवार । नेपाल शिक्षक संघ तनहुँले आफ्नै भवन बनाउने भएको छ।

भवन अभावमा सभा , सम्मेलन , प्रशिक्षण लगायतमा समस्या उत्पन्न भएपछि २०८० साल भदौ २९ गते बसेको संघको बैठकले जग्गा खरिद तथा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोहि बमोजिम समितिका संयोजक एवं सचिव नरेन्द्रनाथ न्यौपानेलाई जग्गा खरिद तथा रजिष्टेशन पारित गर्न प्रतिनिधि खटाएको थियो । संघले शुक्ला गण्डकी- ७ निवासी बालहरि घिमिरेको नाममा श्रेस्ता पूर्जा कायम भएको साविक फराकचौर ९ (झ) हाल व्यास नगरपालिका वडा नं ३ शान्तिनगरमा रहेको कि. नं. २२४ को २ आना २ पैसा क्षेत्रफल रहेको जग्गा किन्ने निर्णय गरेको थियो ।

सोहि बमोजिम संघका अध्यक्ष रमेशबाबु भटराई , सचिव नरेन्द्रनाथ न्यौपाने लगायत अन्य समितिका सम्पूर्ण पदाधिकारी तथा शुभेच्छुकहुरुको सक्रियतामा १६ लाख २५ हजारमा उक्त जग्गा २०८१ असार १ गते जिल्ला मालपोत कार्यालय तनहुँबाट रजिष्ट्रेस पास गरेर संघको नाममा खरिद गरेको अध्यक्ष रमेशबाबु भट्टराईले बताए ।


उक्त खरिद गरिएको जग्गामा भबन बनाउन नापी कार्यालय तनहुँ दमौलीमा हिंजो १२ गते बुधबार निवेदन दिएकोमा आज नापी कार्यालयका अमिन सुमन बोटे सहित नेपाल शिक्षक संघका पदाधिकारी, सँधियारा तथा वडा नं ३ का जनप्रतिनिधि सहितको संयुक्त टोलीले जग्गा छुट्याउने काम सम्पन्न भएको सचिव नरेन्द्रनाथ न्यौपानेले बताए । जग्गा रेखाङ्कनको काम सकिएसङ्गै अब छिटै भवनको शिलान्यास गरि भवन बनाइने अध्यक्ष भट्टराईले बताए । संघले २०४७ साल देखि नेपाल शिक्षक संघको सपना साकार भएको जनाएको छ।
























