प्रहार समाचार । तनहुँ, ६ मंसिर २०८१ विहिवार । तनहुँको आँबुखैरेनी गाउँपालिकले कुमारी बैंकको समन्वयमा गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको विद्यार्थी बचत खाता सञ्चालनको सुरुवात गरेको छ।

कार्यक्रमको समुद्घाटन गर्दै पालिकाका अध्यक्ष शुक्र चुमानले विद्यार्थीहरुमा बचत गर्ने बानीको विकास गर्न, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न, विद्यार्थीको रुची तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रमलाई अगाडी बढाइएको बताए । अध्यक्ष चुमानले विद्यार्थीहरुमा उद्धमशीलताको विकास गरी बाल बालिकाको सुनौलो भविष्य सुनिश्चित गर्ने उद्धेश्यले पालिकाले आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रममा यो नीति ल्याएको बताए ।

उक्त कार्यक्रम अन्तर्गत कुमारी बैंकसंग समन्वय गरी खाता खोल्ने तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीको हकमा प्रति विद्यार्थी एक हजार गाउँपालिकाले विद्यार्थीको खातामा बचत गरिदिने र बचत गरे बापत कुमारी बैंकले बीस हजार बराबरको स्वास्थ्य बीमा लगायतका अन्य सुविधाहरु समेत रहेको छ । गाउँपालिकाको यो कार्यक्रमले पालिकाको ‘आँबुखैरेनी गाउँपालिकाको प्रतिबद्धता, सुनौलो भविष्यको सुनिश्चितता’ भन्ने नारालाई सार्थक तुल्याउने पालिकाले विश्वास लिएको छ।

























