विजय अधिकारी / लमजुङ २९ असार २०८१ शनिबार । यसै साता लगातार परेको अविरल बर्षाका कारण खानेपानीको ट्याङ्की छहरे खोलाले बगाउँदा खानेपानी उपभोक्ताहरु मर्कामा परेका छन । लगातारको बर्षा पछी छ्हरे खोलामा आएको बाढीले बेसीशहर नगरपालिका वडा नम्बर ११ बरबोट गाउँमा ल्याएको सिस्ने छ्हरा खानेपानी योजनाको च्याम्बरमा पुर्ण रूपमा क्षति पुर्याएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष वासुदेव शर्माले बताए ।

२०६५ सालमा ५ लाखको बजेटमा सम्पन्न भएको योजना अहिले पुर्ण रूपमा क्षति भएको शर्माको भनाइ छ । खोलामा पहिरो र बाढीले २ वटा इन्टेक बगाएको छ । त्यसै गरि करीब ५०० मिटर जि आइ पाइप , करीब ५०० मिटर पोलिथिन पाइप सबै बगाएको स्थानीय शिक्षक गोविन्द जोशीले बताए । उनका अनुसार करिब ४-५ रोपनि जग्गामा बाढीले क्षति पुर्याएकोले उपभोक्ताहरु सार्है मर्कामा परेका छन ।
७० धारा सञ्चालित खानेपानी योजना अहिले पुर्ण रूपमा अबरुद्ध हुँदा वरबोट गाउँ टोलका उपभोक्ताहरु समस्यामा परेकाछन । उक्त खानेपानी सुचारु गराइ उपभोक्ताहरुलाई खानेपानी उपलब्ध गराउन सम्बन्धित वडा कार्यालय , संबंधित नगरपालिका लगाएतले गम्भीरता पुर्वक ध्यान दिई सहयोग गरिदिन सिस्ने छहरा खानेपानी उपभोक्ता समितिले अनुरोध गरेको अध्यक्ष शर्माले बताए ।
























