प्रहार समाचार । लमजुङ, २ कात्तिक २०८३ सोमबार । लमजुङको म मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेशनाथ पाण्डेले दसैँको धार्मिक, आध्यात्मिक र नैतिक महत्त्वमाथि जोड दिँदै शक्ति प्राप्त गर्नुभन्दा त्यसको सही सदुपयोग गर्नु ठूलो धर्म भएको सन्देश दिएका छन्।

‘अप्प दीपो भवः’ अर्थात् ‘तिमी स्वयं आफ्नो दीपक बन, आफ्नो मार्गदर्शक आफैँ बन’ भन्ने बुद्धवचनलाई स्मरण गराउँदै उनले आत्मविश्वास, आत्मनिर्भरता र सकारात्मक कर्मबिना समाजको विश्वास जित्न नसकिने धारणा व्यक्त गरेका छन्। उनको सन्देशले धर्मको आवरणमा अहंकार प्रदर्शन गर्ने, शक्तिको दुरुपयोग गर्ने र नैतिकताभन्दा बाहिरी आडम्बरलाई प्राथमिकता दिने प्रवृत्तिमाथि गम्भीर प्रश्न खडा गरेको छ।नगर प्रमुख पाण्डेले ‘जाग्ने हो, भाग्ने होइन’ भन्दै जीवनका चुनौतीसँग सामना गर्न प्रेरित गरेका छन्। शारीरिक रूपमा अशक्त व्यक्तिले समेत सगरमाथा आरोहण गरेर असम्भव ठानिएका लक्ष्य हासिल गरेको इतिहास स्मरण गराउँदै उनले कमजोरीलाई बहाना बनाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई निरुत्साहित गरेका छन्।
धार्मिक दृष्टिले पनि वास्तविक शक्ति अरूलाई दबाउन, अपमान गर्न वा आफ्नो प्रभुत्व स्थापित गर्न होइन, सत्यको पक्षमा उभिन, अन्यायविरुद्ध लड्न र मानवताको रक्षा गर्न प्रयोग हुनुपर्छ भन्ने उनको सन्देशको सार देखिन्छ। शक्ति हातमा हुनु ठूलो कुरा होइन, त्यो शक्तिले समाजलाई कति न्याय, सद्भाव र सकारात्मक परिवर्तन दिन्छ भन्ने कुराले व्यक्तिको वास्तविक उचाइ निर्धारण गर्छ।दसैँलाई केवल विजय, वैभव र शक्तिको उत्सवमा सीमित नगर्न आग्रह गर्दै पाण्डेले भगवान् राम र माता दुर्गाको आदर्शलाई शक्ति र मर्यादाको सन्दर्भमा प्रस्तुत गरेका छन्।
उनको भनाइमा दसैँ शक्ति प्राप्तिको पर्व मात्र नभई त्यसको विवेकपूर्ण सदुपयोग गर्ने संकल्पको अवसर पनि बन्नुपर्छ। देवी दुर्गाको आराधना गर्ने तर व्यवहारमा अन्याय, विभेद र अहंकारलाई प्रश्रय दिने प्रवृत्तिले धर्मको मर्म पूरा गर्न सक्दैन। राम र दुर्गाको नाम जप्नुको सार उनीहरूले प्रतिनिधित्व गर्ने आदर्शलाई व्यवहारमा उतार्नु हो। त्यसैले यस वर्षको दसैँ एकता, सद्भाव र समानताको पर्व बनोस् भन्दै नगर प्रमुख पाण्डेले सम्पूर्ण नगरवासी तथा आदरणीय जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।



















