हेडलाईनसमाचारप्रदेश

रुपन्देहि तानिदै रवि : बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेको ‘कनेक्सन’

प्रहार समाचार । तनहुँ , ९ कात्तिक २०८१ शुक्रबार । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ‘कनेक्सन’ देखिएपछि उनलाई रुपन्देही तानिने भएको छ । पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम समेत अपचलन गरेको कागजात भेटिएपछि पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही ‘कनेक्सन’ खुलेको थियो ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको छ ।

सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईसहितले असोज ५ गते दिएको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठले रवि र छविसहित दीपक लामा, अनन्तबाबु राई, श्रीबल्भव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई सहकारी ठगीसम्बन्धी फौजदारी कसूरमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ गर्न अनुमति दिएको छ । 

कास्की जिल्ला अदालतको अनुमतिले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि र छविलाई ७ दिन म्याद थप भएको छ । लामिछानेलाई यही कात्तिक २ गते र जोशीलाई गएको असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जोशीलाई कात्तिक ५ र ६ गते दुईदिन पोखराबाट हवाईजहाजमार्फत बुटवल ल्याएर अनुसन्धान गरी पुनः पोखरा नै पठाइएको छ । रविलाई आजभोलिमै रुपन्देही ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले  जानकारी दिए ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर १४ करोड बचत हिनामिना गरेको ६ महिनाअघि प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १ हजार ८०० बचतकर्ताको ८६ करोड रुपैयाँ हिनामिना भएको देखिन्छ । रविको नाम खडा गरी सुप्रिमबाट गोरखा मिडियाको खातामा २ करोड रुपैयाँ निकासा भएको कागजातबाट देखिन्छ । सोही विषयमा प्रहरीले रविलाई रुपन्देही ल्याएर अनुसन्धान गर्न लागेको हो । अन्य सहकारीबाट रवि समेत सञ्चालक रहेको बैंक खातामा रकम गए पनि सुप्रिमबाट रविकै नाममा रकम निकासा भएको देखिन्छ ।

सहकारीको पैसा दुरुपयोगमा संलग्न रहेको देखिएपछि यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानका आधारमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक गितेन्द्रबाबु राई (जीबी), भूपेन्द्रबाबु राई, छविलाल जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको थियो ।

तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा छन् । जीबी, भूपेन्द्र र सागर फरार छन् । दुर्गा, दीपेश र रोशनीसहित ६ जना धरौटीमा छुटेका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर जीबी, छवि र रविको कम्पनीमा सुप्रिमबाट रकम गएको देखिएकाले रविलाई पनि अनुसन्धानका लागि रुपन्देही ल्याइने बताउँछन् । – लोकान्तर अनलाइनबाट



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button