प्रहार समाचार । तनहुँ ९ कात्तिक २०८१ शुक्रबार । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्मित तनहुँको आँबुखैरेनी क्याम्पस भवनको उद्घाटन गरिएको छ ।

नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तीरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बिहिबार संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह नेपाल र भारतको सम्बन्ध शादिऔं देखिको रहेको चर्चा गर्दै भारतले नेपालको शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भारतले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरे ।
आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यस परियोजनाले दुई देशबीचको शैक्षिक सहकार्यलाई अझ मजबुत बनाएको बताउँदै सिङ्गो पालिकाको तर्फबाट भारतीय दूतावासलाई धन्यवाद दिए ।

त्यस अबसरमा राजनीतिक प्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्य राख्दै प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक , शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

३ करोड बढिको लागतमा नवनिर्मित दुईतल्ले क्याम्पस भवनले तनहुँ क्षेत्रको शैक्षिक क्षेत्रलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आँबूखैरेनी क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सामुदायिक क्याम्पस हो, जहाँ ३ सय बढि विद्यार्थीहरु अध्ययनरत छन्। ९० प्रतिशत भन्दा बढी छात्राहरु अध्ययन गर्ने यस क्याम्पसमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) का कार्यक्रमहरु सञ्चालित छन्।
यस भवनको निर्माणले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिने वातावरण तयार पार्ने विश्वास लिइएको छ। ग्रामीण क्षेत्रका युवाहरुका लागि उच्च शिक्षामा सहज पहुँच पुग्नेछ भने यसले उनीहरुको सीप र दक्षतामा सुधार ल्याई दीर्घकालीन रुपमा आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउनेछ विश्वास समेत लिइएको छ। भारतीय दूतावासले भवन निर्माणबाट आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।
























