प्रहार समाचार । तनहुँ, ७ कात्तिक २०८१ बुधबार । तनहुँको व्यास नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका क्रममा जफत भएका अखाद्य सामाग्रीहरु आज नष्ट गरिएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रेका, उपभोग गर्न योग्य नरहेका र विक्रीका लागि प्रतिवन्ध गरिएका सामाग्री नगरपालिकाले जफत गरेको थियो । चाडपर्वमा उपभोक्ताहरु बढी ठगिन सक्ने भन्दै गरिएको अनुगमनमा सदरमुकाम दमौलीमा अनुगमन गरिएको सामग्रीको नष्ट गरिएको हो । एक लाख मूल्य बढिका जफत गरिएको सामाग्रहरु जनप्रतिनिधी, उद्योगी ब्यवसायीका प्रतिनिधी, पत्रकार, कर्मचारी र सुरक्षाकर्मीहरुको रहोवरमा नष्ट गरिएको व्यास नगरपालिकाकी कार्यवाहक नगर प्रमुख ईन्दिरा दरैले बताईन् ।

सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारी, पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदी, व्यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष खेमराज पोख्रेल, व्यास नगरपालिका बजार अनुगमन समितिका सचिव रामचन्द्र हड्खले, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुकनारायण मल्ल, प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की लगायतको उपस्थितीमा उक्त सामाग्रीहरु नष्ट गरिएको थियो ।

बजार अनुगनमन समितिको संयोजक तथा कार्यबाहक प्रमुख दरैले म्याद नाघेका सामग्री बिक्री गर्ने व्यवसायीलाई अब बिक्री नगर्न चेतावनी दिईएको र फेरी पनि गल्ती दोहोऱ्याए पसलमा ताला लगाउने बताइन्। कार्यबाहक नगर प्रमुख दरैले व्यावसायीहरुले समान खरीद गर्दा म्याद सकिन लागेका सामानहरु खरिद नगर्न र म्याद सकिएका समान डिलरमै फिर्ता गर्न तथा उपभोक्ताहरु पनि आफै सचेत भएर बस्तुहरु खरिद गर्न आग्रह गरिन् ।

























