प्रहार समाचार । काठमाडौँ , ७ कात्तिक २०८१ बुधबार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल स्वास्थ्य मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा धेरै सुधारका सङ्केत देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा केही मुख्य प्राथमिकता तोकेर स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग १० बुँदे कार्य सम्पादन सम्झौता गरेका थिए । सम्झौताको प्रगति सकारात्मक देखिन्छ ।

राजधानी काठमाडौंका अतिरिक्त जिल्लाका केही संघीय अस्पतालमा पनि दुई सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिनु, बिरामीले शल्यक्रियाका लागि सरकारी अस्पतालमा पालो पाउन एक वर्षसम्म कुर्नुपर्ने बाध्यतालाई घटाएर तीन महिनामा झार्न सकारात्मक सङ्केत हुन् ।
अस्पतालमा मीमाको दायरा फराकीलो पार्ने पहल पनि मन्त्रालयले गरेको छ। स्वास्थ्य मन्त्री प्रदिप पौडेल भन्छन् – ‘कार्यदलले स्वास्थ्य बिमामा के–कस्ता परिवर्तन गरेर दायरा बढाउन सकिन्छ भनेर सुझाव दिएपछि कार्यान्वयनमा लैजाने हो,’ । ‘बिमाको दायरा फराकिलो बनाएर धेरैलाई जोड्न सके स्वास्थ्य क्षेत्रमा पनि परिवर्तन ल्याउन सकिन्छ ।’ मन्त्री पौडेलले भने ।

वीर अस्पतालमा यसअघि ६ महिनाभन्दा बढीमा मात्रै पालो पाइने शल्यक्रिया अब ३ महिनामै हुन थालेका छन् । ‘सबै प्रकारका शल्यक्रियाको पालोको समय घटेको होइन । त्यो गर्न जनशक्ति नै थप गर्नुपर्छ । त्यसका लागि पनि हामीले योजना बनाएर अगाडि बढाइसकेका छौं,’ – स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
उनि भन्छन् – ‘यसै पनि निजी अस्पतालले कुल बेडको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्छ भन्ने सर्त छ । त्यसलाई कसरी कार्यान्वयनमा ल्याउने भन्नेबारे सबै पक्षसँग छलफल अगाडि बढाइएको छ ।’
यस्तै, स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेपछि पौडेलले स्वास्थ्य बिमाअन्तर्गत अस्पतालभित्रकै फार्मेसीमा औषधि प्राप्त नहुने अवस्था हटाउन भूमिका निर्वाह गरेका छन् । हाल संघीय अस्पतालभित्र रहेका फार्मेसीमा ९० प्रतिशतभन्दा बढी औषधि उपलब्ध हुन थालेको दाबी गर्दै सरकारी अस्पतालले मन्त्रालयलाई रिपोर्टसमेत बुझाएका छन् ।
मन्त्री पौडेलकै पहलमा सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने योजना पनि कार्यान्वयन भएको छ । मन्त्रालयका अनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा र भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको कोशी अस्पताल र मधेश प्रदेशको नारायणी अस्पतालबाट सेवा विस्तार गर्ने गरी सम्झौता भएका छन् ।
क्यान्सर सेवा विस्तारझैं मुटु रोगको उपचारलाई पनि सातै प्रदेशमा विस्तार गर्ने जिम्मा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दिइएको छ । केन्द्रको सहयोगमा मधेश प्रदेश र गण्डकी प्रदेशमा सेवा पनि सुरु भएको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले स्वास्थ्यमन्त्री पौडेलको कार्यकालमा धेरै सुधारका योजना सुरु भएको दाबी गरे ।
‘सुरु गरिएका सबै योजनाबाट प्रतिफल नै प्राप्त हुन थालिसक्यो भन्ने होइन । तर, सकारात्मक प्रयासहरू भएका छन्,’ उनले भने, ‘केही व्यवस्थापकीय कामले गर्दा तत्काल प्रतिफल पनि देखिएका छन् । केही देखिन समय लाग्छ ।’

























