प्रहार समाचार । काठमाडौं , ५ कात्तिक २०८१ सोमबार । क्रिकेट टिम कति बलियो र शशक्त छ र प्रतिस्पर्धी सेङ्ग कस्तो जादुगी खेल खेल्छ भन्ने उदाहरण अमेरिकामा भएको टी – २० अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा देखाइदिएको छ। अमेरिका विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले उसकै खेल मैदानमा क्लिन स्विप गरेको छ ।

आज बिहान तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज क्लिन स्विप गरेको हो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५० रन बनाए । ३९ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए । ३० बल खेलेका मल्लले चार चौका र एक छक्का प्रहार गरे । ३२ बल खेलेका भुर्तेलले दुई चौका र एक छक्का प्रहार गरे । अनिल शाहले १३ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ६८ रन बनाए । ५० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मिलिण्ड कुमारले ३५ बलमा नटआउट ४३ रन बनाए । आरोन जोन्स १३, श्याम जाहाङ्गिर ९, कप्तान मोनाङ्क पटेल २ र आन्ड्रिज गौस २ रन बनाएर आउट भए । हर्मीत सिंह १० रनमा नटआउट रहे ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २७ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै, रिजन ढकाल र लिलित राजवंशीले समान एक/एक विकेट लिए । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।
























