प्रहार समाचार । तनहुँ , ३ असोज २०८१ शनिवार । तनहुँको व्यास नगरपालिका वडा नं ५ मा रहेको पर्यटकीय स्थल मानुङकोट पर्यटकहरु घुम्नका लागि सुरक्षित रहेन । घुम्न र रमाउन आएका पर्यटकहरु नै अज्ञात व्यक्तिहरुको आक्रमणमा पर्छन् भने / घाइते हुन पुग्छन् भने कसरी सुरक्षीत रह्यो ? भन्ने प्रश्न यति बेला उठ्न थालेको छ। प्राप्त समाचार अनुसार पछिल्लो पटक हिंजो शुक्रबार पोखराबाट तनहुँको पर्यटकीय क्षेत्र व्यास–५ मानुङकोट घुम्न आएका पाँच जनाको समूहलाई अज्ञात व्यक्तिहरुको कुटाइबाट घाइते हुन पुगेका छन् ।

उनिहरुलाई हिंजो साँझ अज्ञात समुहले आक्रमण गर्दा पाँच जना घाइते हुन पुगेका थिए ।
घाइते हुनेहरुमा कास्की जिल्ला पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने बर्ष २७ का विपिन गुरुङ,सोही स्थान निवासी बर्ष ३२ का रामेश्वर धिताल,स्याङ्जा जिल्ला वालिङ नगरपालिका–८ घरभई हाल पोखरा बस्ने बर्ष २९ का युवराज गुरुङ र बर्ष २७ का बिष्णु गुरुङ र पोखरा सराङकोट बस्ने बर्ष २९ का सिदार्थ डंगोल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।
आक्रमणबाट पाँच जना व्यक्ति को टाउँको, कन्चट,गाला,नाडी, आँखा नजिकको भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ । घट्नामा संलग्न तनहुँको व्यास नगरपालिका–१३ बेलवास बस्ने बर्ष २७ का दिनेश रामदासलाई प्रहरीले नियन्त्रण लिएको छ। घट्नामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

























