विजय अधिकारी । (संवाददाता ) लमजुङ १७ असोज २०८१ बिहिबार । लमजुङको सुन्दरबजार अस्पताललाई नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको विशेष सहयोगमा नेपाल भरमै पहिलो पटक महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने मोबाइल थर्मोकोगुलेटर मेसिन एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले सुन्दरबजार अस्पताल विकास समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ र सुन्दरबजार अस्पतालमा कार्यरत डाक्टर प्रशान्त मिश्रलाई संयुक्त रूपमा बिहीबार उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।
मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर कोइरालाले मेसिन प्रयोग गर्न अस्पतालमा जनशक्ति भएको जस्तो लाग्छ । यदी जनशक्ति नभएमा उपलब्ध जनशक्ति मध्येबाट अस्पतालको सिफारिसमा १ जनालाई मेसिन सञ्चालनको लागि अवस्यक तालिमको व्यवस्था नगरपालिकाले गराइदिने र यस मेसिनको अधिकतम प्रयोग गर्न अस्पताललाई आग्रह गर्दै मेसिन उपलब्ध गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल र उनको टोलिसङ्ग सहजीकरण गर्ने सन्तोष गुरुङलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा सुन्दरबाजार नगरपालिका-६,का वडा अध्यक्ष दिनेशबाबु कोइरालाले उक्त मेसिन सुन्दरबजार सम्म के कसरी आइपुगेको हो भन्ने विषयमा जानकारी गराउदै सुन्दरबजार-६, निवासी सन्तोष गुरुङ हाल स्वास्थ्य मन्त्री पौडेलको सचिवालयमा रहेको र उनको विशेष अनुरोध र पहलमा मन्त्री पौडेलले सुन्दरबजार नगरपालिकालाई उक्त मेसिन पठाएको बताए ।
आम सुन्दरबजारका बासिन्दाको अनुरोधलाई स्वीकार गरि मेसिन प्रदान गर्ने स्वास्थ्य मन्त्री पौडेल लगायतको टिम र सहजीकरण गर्ने सन्तोष गुरुङलाई वडा अध्यक्ष कोइरालाले धन्यवाद दिएका थिए ।
कार्यक्रममा सुन्दरबजार नगरपालिकाको उपमेयर भवानी के.सि.,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडा नम्बर-४,का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी,५ का वडा अध्यक्ष श्रीकाजी गुरुङ,६ का वडा अध्यक्ष दिनेशबाबू कोइराला,७ का वडा अध्यक्ष जयराम रेग्मी, ८ का वडा अध्यक्ष बिजेन्द्र थापा, ९ का वडा अध्यक्ष मनराज गुरुङ लगायत कार्यपालिका सदस्यहरु,स्वास्थ शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त मोबाइल थर्मोकोगुलेटर मेसिनबाट महिलाहरुको पाठेघरको मुखमा क्यान्सर भए नभएको सजिलै पत्ता लगाउन सकिने बताइएको छ।

























