प्रहार समाचार । तनहुँ , १४ कात्तिक २०८१ बुधबार । तनहुँको व्यास नगरपालिका १, विज्ञानचौरमा रहेकोआदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणको सम्झौता गर्ने काम सम्पन्न भएको छ।

विद्युतीय बोलपत्रका माध्यमबाट छनोट भएको निर्माण कम्पनी ‘मातृभूमि डेभलपर्स एन्ड इन्जिनियर्स ‘ काठमाडौँले स्वीकृत लागत अनुमान बमोजिमको प्रशासनिक भवन निर्माण आगामी २०८१ माघ मसान्तभित्र सम्पन्न गर्ने गरी क्याम्पस र उक्त निर्माण कम्पनीबीच हिंजो सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट कम्पनीका व्यवस्थापक सविन पोखरेलले हस्ताक्षर गरे ।
उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ , उपाध्यक्ष खर सिं दरै , निर्माण समितिका संयोजक क्याप्टेन सहवीर उचाइ र आर्थिक समितिका संयोजक गोपाल सुर्खालीको समेत उपस्थिति रहेको थियो। सो अवसरमा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी र सागर पौडेल क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा, लेखा अधिकृत विष्णुप्रसाद रिजाल र इएमआईएस अफिसर इन्जिनियर अनमोल प्रधान लगायत कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

सो भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले क्याम्पसलाई आव ०८१/०८२ मा १ करोड आर्थिक अनुदान सहायता उपलब्ध गराएको र भवनको निर्माणपछि क्याम्पसको प्रशासनिक कार्यका लागि सहज हुने क्याम्पसले जनाएको छ।

























