प्रहार समाचार । तनहुँ , ४ कात्तिक २०८१ आइतबार । सूर्यदर्शन सहकारीको रकम हिनामिना तथा सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले हिरासतमा राखी अनुसन्धान गर्न ६ दिनको अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गर्दा अदालतले ६ दिनको अनुमति दिएको हो ।
न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ६ दिनको अनुमति प्रदान गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको भन्दै सूर्य थापा नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।
प्रहरीले अस्ति शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो ।शुक्रबार राति स्थलमार्ग हुँदै शनिबार बिहान देखि लामिछानेलाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको छ।

























