प्रहार समाचार । तनहुँ , १ कात्तिक २०८१ आइतबार । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने युसीएलजी एसपीएसी (यूनाइटेड सिटिज एण्ड लोकल गभर्नमेन्ट्स एशिया प्यासिफिक) को सेकेन्ड एक्जिक्युटिभ मिटिङमा सहभागिता जनाउनका लागि चाइनाको गोञ्जाओ शहरमा पुगेका छन् ।

भोलि अर्थात अक्टोबर २१ देखि २५ सम्म चाइनाको गोज्जाओ शहरमा हुने उक्त कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्थानीय सरकारहरूका बीचमा सहयोग र साझेदारीलाई प्रवर्द्धन गर्न तथा नगरपालिकाको विकासमा अन्तर्राष्ट्रिय सञ्जालको महत्त्वबारे चर्चा गर्नुहुने अपेक्षा गरेका छन् ।
न्यौपाने युसीएलजी एसपीएसीको एक्जक्युटिभ बोर्ड सदस्यको रूपमा उक्त कार्यक्रममा सहभागीता जनाउने छन् । त्यस अवसरमा एशिया प्यासिफिक क्षेत्रमा स्थानीय सरकारहरूका लागि नीति, योजना र रणनीतिहरूमा गहन छलफल र निष्कर्ष निस्कने विश्वास लिइएको छ। बैठकले नगरपालिकाहरू बीचको आपसी सम्बन्धलाई मजबुत बनाउन, शहरी विकासका चुनौतीहरू समाधान गर्न, र नयाँ सम्भावनाहरूको खोजी गर्न अवसर प्रदान गर्ने नगर प्रमुख न्यौपानेले प्रहार समाचारलाई बताए ।
नगरप्रमुख न्यौपानेले बैठकमा व्यास नगरपालिकाको दृष्टिकोण र योजनाहरूलाई प्रस्तुत गर्ने अवसर प्राप्त गर्नुका साथै अन्य नगरपालिकासँग अनुभव आदानप्रदान गर्ने पनि बताइएको छ। यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपालका स्थानीय तहलाई अझ सशक्त र विश्वव्यापी परिप्रेक्ष्यमा योगदान पुर्याउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

























