प्रहार समाचार । तनहुँ, २ असोज २०८१ शुक्रबार । ‘समृद्धि तपाइँको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले देशैभर साप्ताहिक कार्यक्रमका साथ आठौं वर्षीकोत्सव मनाउने भएको छ।

प्रधान कार्यालयसमेत १ सय ३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा प्रदान गरिरहेको छ। ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् भने १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गर्न सफलता मिलेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार १९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको जगेडा तथा कोष छ। कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए ।

सिटिजन लाइफले ७ वर्षको अवधिमा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने ११ लाख ८९ हजार बीमित रहेका छन्। कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन्।
कम्पनीले सातौँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरका शाखा तथा उपशाखा कार्यालय र प्रधान कार्यालयमार्फत सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम सञ्चालन गर्दैछ।
तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली शाखाको आयोजनामा आज दमौलीमा एक कार्यक्रमको आयोजना गरेर वाषिकोत्सव मनाइएको शाखाप्रमुख रविचरण गिरीले प्रहार समाचारलाई बताए ।



कम्पनीको वार्षिकोत्सवको अवसरमा तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल छाब्दीबाराही मन्दिर हाताभित्र सरसाइलाई मध्यनजर गर्दै डस्बिन वितरण गर्ने कार्यक्रम तय भएको बताइएको छ।
कम्पनीले यस वर्ष बीमा सचेतनालाई विशेष प्राथमिकतामा राखेको छ। अझै पनि धेरै नेपालीमा जीवन बीमासम्बन्धी जानकारी एवं चेतनाको अभाव रहेकाले जनसमुदायमा जीवन बीमाप्रतिको जनचेतना वृद्धिका लागि सडक ऱ्याली र घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसका साथै कम्पनीका शाखाले अन्य संघसंस्थासँगको सहकार्यमा जीवन बीमासम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ।
यसैगरी वार्षिकोत्सवको दिन नेपालमा रहेको जातीय विविधतालाई मनाउने अवसरका रुपमा लिँदै कम्पनीले यस वर्षदेखि ‘विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुआत गरेको छ।
विविधतामा एकतालाई प्रवर्द्धन गर्ने र संस्थामा रहेका कर्मचारीबीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक–अर्काको संस्कृतिबारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हालैको अविरल वर्षाका कारण आएको बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति भएकोमा प्रभावित परिवारलाई खाद्यान्न, न्यानो कपडालगायत अन्य राहात सामग्री वितरण गरिने कम्पनीले जानकारी दिएको छ।
यसै सन्दर्भमा प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङजस्ता ठूलो समस्यालाई केही हदसम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहलअन्तर्गत विभिन्न ठाउँमा वृक्षरोपणसमेत गर्ने भएको छ।
त्यसैगरी विगतका वर्षझैँ यस वर्ष पनि प्रधान कार्यालय र शाखाहरुमा कम्पनीले खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। रक्तदानबाट देशमा हालै आएको प्राकृतिक प्रकोप र डेंगीजस्ता विभिन्न रोगको महामारीबाट प्रभावितहरुको उपचारमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।
सिटिजन लाइफले हालसम्मको प्रगतिमा साथ दिने ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, सञ्चारकर्मी, व्यवसायीक साझेदार, कर्मचारीलगायत सबैमा कृतज्ञता व्यक्त गरेको छ।

























