प्रहार समाचार । तनहुँ , २ कात्तिक २०८१ शुक्रबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार २०८१ को अवसरमा बन्दीपुर हिलको आयोजनामा चाडपर्व उत्सव २०८१ देउसीभैलो प्रतियोगिता तथा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालीहरुको मौलिक,कलासंस्कृतिको संरक्षण गर्न उद्देश्यले आयोजित प्रतियोगिता यहि कार्तिक ९ गते देखि १५ गतेसम्म बन्दीपुर केबलकार तल्लो स्टेसन स्थित केबलकार चोकमा देउसीभैलो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रायोजित उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु अशिष राना लाहुरे , ज्योति मगर , विमलराज क्षेत्री लागायतको साङ्गीतकिक प्रस्तुति रहने बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

शर्माका अनुसार देउसीभैलो प्रतियोगितामा प्रथम हुने समुहलाई १ लाख,द्वितीय समूहलाई ५० हजार, तृतीय हुने समूहलाई २५ हजार र सान्तवना हुने सरदलाई १० हजार प्रदान गरिने छ।
यसै गरि बन्दीपुर हिलले टिकटक प्रतियोगिताको समेत आयोजना गरेको छ । बन्दीपुर केबलकारको स्टेसन परिसरमा कुनै गीतमा बनाउनुपर्ने छ वा बन्दीपुरहिलले दिएको प्रमोशन गीतको आधारमा भिडियो बनाउनुपर्ने हुन्छ ।

प्रतियोगितामा अत्याधिक भ्यूज पाउनेले १० हजार, अत्याधिक शेयर हुनेले १० हजार र गुणस्तरीय भिडियो प्रस्तुत गर्नेले १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । कार्तिक १५ गते सम्म भ्यूज र शेयरको आधारमा निर्णय गरि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुर गाउँपालिका–४ केबलकार चोक स्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’,अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट,सत्रतलाको पाँचतारे होटल “क्वीन टावर” र केबलकार लगायतका संरचना निर्माण गरि संचालनमा ल्याइसकेको छ ।
तल्लो स्टेशनदेखि माथिल्लो स्टेशनसम्म एक हजार ७ सय मिटर दुरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर केबलकार यात्रा टुंङिग्नेछ ।
समुन्द्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाईमा उक्त होटल निर्माण गरिएको छ । टुरिजमले सबै संरचना निर्माण गरी संचालनमा ल्याइएसंगै बन्दीपुरको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन सक्ने अध्यक्ष शर्माले बताए । शर्माका अनुसार ६ अरब २९ करोडमध्ये विभिन्न संरचना निर्माणमा ४ अरब ५५ करोड लगानी भैसकेको छ ।

























