हेडलाईनसमाचारप्रदेश

आज महाअष्टमी र महानवमी पर्व एक साथ मनाइँदै

प्रहार समाचार । काठमाडौँ, २५ असोज २०८१ शुक्रबार । महाअष्टमी र महानवमी पर्व आज  एकसाथ मनाइँदैछ । नवरात्रको नवौं तथा अन्तिम दिन तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो । अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ।

महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । त्यसैगरी, नवमीका अवसरमा नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्री पूजा आराधना गरिँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । 

दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button