विजय अधिकारी । ( संवाददाता ) । प्रहार समाचार । लमजुङ , २२ असोज २०८१ मङ्गलबार । लमजुङमा दशै,तिहार र छठ पर्व जस्ता चाडपर्वहरुको समयमा यात्रुको चाप बढीहुने,चोरी लुटपाट जस्ता घटनाहरु घटन सक्ने संभावनालाई मध्यनजर गर्दै लमजुङको १० स्थानमा चाडपर्व लक्षित “यात्रु सहायता कक्ष”स्थापना गरिएको छ ।

ठूला चाडपर्वलाई लक्षित गरि लमजुङको मर्श्याङ्दी गाउँपालिका-३,खुदी,बेसीशहर नगरपालिका – ७,मनाङे चौतरा , बेसीशहर नगरपालिका -८,शेराचोक,बेसीशहर नगरपालिका -३,रानिकुवा,सुन्दरबजार नगरपालिका -८,भोटेवडार बगैंचा,सुन्दरबजार नगरपालिका -६,खत्रीठाटी,सुन्दरबजार – ७,पाउदी,राइनास नगरपालिका -६, धमिलीकुवा,मध्यनेपाल नगरपालिका-६,पाखुरी चोक र मध्यनेपाल-४,दुई पिप्ले गरि १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको लमजुङका डियसपी निशान्त श्रीवास्तबले बताए ।
बेसीशहर-७,को मनाङे चौतारामा गरिएको एक औपचारिक कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालले चालकलाई हरेक समस्याबाट मुक्त गर्न सकेमा मात्रै सुरक्षित रूपमा गन्तव्यमा पुग्न सकिने बताए । मेयर अर्यालले दुर्घटनाका विभिन्न कारण हुने बताउँदै चालकलाई तनाव रहित बाताबरण निर्माण गर्न सके मात्र सडक दुर्घटना न्यूनीकरणमा धेरथोर सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले चाडपर्वका बेला बसपार्कमा धेरै सङ्ख्यामा यात्रुहरू आवतजावत गर्ने,टिकट काउन्टरमा यात्रुहरूको भिड हुने,सवारी साधनको चाप बढी हुने,यात्रुलाई बढी भाडा लिनेे तथा यात्रु ठगिने,यात्रुको सामान हराउने,सवारी साधनमा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाइ तत्कालै सुनुवाइ गरि समस्याको समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।
डियसपी निशान्त श्रीवास्तबले चाडपर्वको समयमा कुनै पनि गुनासो नआउने गरि काम गर्न चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाइएको भन्दै जिल्लाभर १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए । उनले यात्रुमैन्त्री बाताबरण बनाउन,सुरक्षित यात्रा र सार्वजनिक सवारीलाई निगमन गर्न यात्रु सहायता कक्षले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरेको जानकारी दिदै यात्रु सहायता कक्षको अलावा जिल्ला प्रहरी कार्यालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय,प्रहरी चौकी र अस्थायी प्रहरी पोस्ट मार्फत पनि नागरिकले सेवा लिन सक्ने बताए ।
























