प्रहार समाचार । तनहुँ , १९ असोज २०८१ शनिबार । तनहुँको व्यास नगरपालिका वडा नं १ अमिलि भञ्ज्याङमा रहेको भादगाउँ खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पाँच दिन लगाएर मर्मत गरेपछि खानेपानी वितरण गर्ने कार्य पूर्ववत रुपमा सूचारु गरेको छ।

असोज १० बिहीबारदेखि तीन दिनसम्म परेको अबिरल बर्षाले तीन स्थानमा पहिरो खस्न गई पाइप बगाएर क्षति बनाएकाले मर्मतसंम्भार गरी पानी सुचारु गरिएको संस्थाका अध्यक्ष चिज बहादुर दरैले प्रहार समाचारलाई बताए ।

‘व्यास नगरपालिका–१३ खिरखादी मुहानबाट ल्याएको खानेपानी बाढि र पहिरोले लीन ठाउँमा समस्या आएको थियो नौ दिन लगाएर पाइपमा देखिएको समस्या समाधान गरियो । ‘ – अध्यक्ष दरैले भने ।


व्यास नगरपालिकाबाट प्राविधिकसहितको टोली लगेर क्षतिको लागत इष्टिमेट गर्दा तीन लाख बढीको क्षति भएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
पानी संचालनमा आएसंगै उपभोक्तामाझ वितरण कार्यमा सहज भएको संस्थाले जनाएको छ।

बर्षाले व्यास–१३ जब्दारीमा डाँडै खस्दा करिब ४० मिटर जिआइपाइप बगाएर क्षति बनाएको थियो ।
विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म २ हजार ६ सयभन्दा बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । उक्त संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी सङ्कलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को १ टोलका उपभोक्तालाई वितरण गर्दै आएको छ ।

























