प्रहार समाचार । १८ असोज २०८१ शुक्रबार । आज दसैं अर्थात् नवरात्रीको दोस्रो दिन दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै मनाउँदै छ ।

दसैंको पहिलो दिन हिंजो घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो।
घटस्थापनाकै पहिरो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीकाजमराका रूपमा लगाइन्छ।
नवरात्रीका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।
नवरात्रीका अवसरमा विभिन्न शक्ति पीठहरूमा दर्शनार्थीको घुइँचो लाग्छ। तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा रहेको तनहुँ कालिका मन्दिर, काठमाडौंको शोभा भगवती, गुह्वेश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, जोरपाटीको चामुण्डा भगवती आदि मन्दिरमा विशेष पूजाअर्चना हुनेगर्छ। नवमीको दिन हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा विशेष पूजाआराधना हुने प्रचलन रहि आएको छ।
























