प्रहार समाचार । तनहुँ, १४ असार २०८१ । बिउ बिजन तथा विषाधिहरु बिक्री गर्ने व्यवसायीहरुले संञ्चालन गरेका पसलहरु बन्द गरेका छन्। य मध्य असारमा विषादी व्यवसायी सङ्घले पसलहरू बन्द गर्दा धेरै किसानहरू मारमा परेका छन्।

नेपाल सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषि बालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरूमा मूल्य अभिवृद्धि कर (भ्याट ) बृद्धि गरिएको शुल्कको विरोध स्वरूप पसलहरु बन्द गरिएको विषादी व्यवसायी संघ नेपालका राष्ट्रिय अध्यक्ष छोटेलाल प्रसाद र महासचिव रामचन्द्र कार्की द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ – ” आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषि बालीसँग प्रयोग हुने सम्पूर्ण विषादीमा मूल्य वृद्धि कर (भ्याट ) लागू गरिएको र यस सम्बन्धी प्रधानमन्त्री, अर्थमन्त्री ,कृषि मन्त्री लगायत विशिष्ट व्यक्तिहरूलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि वस्तुहरूमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट ) हटाइदिन अनुरोध गर्दा सकारात्मक जवाफ पाइएको तर २०८१ असार ११ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट २०८१ जेठ १५ गते प्रस्तुत बजेटलाई नै सोही निर्णय पास गरेको साथै जीवनाशक विषदी ऐन २०७६ अन्तर्गत हालै मन्त्रिपरिषदबाट पास भएको जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा ५ सय देखि हजार प्रतिशत सम्म प्लाण्ट क्वरेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरेकोले यो सम्पूर्ण रुपमा विषादी व्यवसायी लगायत नेपाली किसानहरू माथि ज्यादती थोपर्ने र कृषि पेशमा आवद्ध हाम्रो पेशालाई धरापमा पार्ने कार्यहरू गरेको हुँदा कृषि बालीनालीमा प्रयोग हुने विषादी लगायत कृषि वस्तुहरूमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट ) र विषादी पञ्जिकरणमा वृद्धि गरिएको शुल्कको खारेजीको माग गर्दै विरोध स्वरूप मिति २०८१ असार १४ गते शुक्रबार र १५ गते शनिबार देशव्यापी रुपमा विरोध प्रदर्शन गरि पसलहरु बन्द गर्न आव्हान गर्दछौ” । साथै पत्रमा “सम्पूर्ण किसानहरू सङ्घसंस्थालाई यस विरोध कार्यक्रममा सहभागी भइदिनु हार्दिक अपिल समेत गर्दछौं ” भनिएको छ।
यस्तो रहेको छ आन्दोलनको पत्र:

यो माग पूरा नभएसम्म विभिन्न चरणमा विरोध कार्यक्रम व्यक्त गर्ने गर्न सामाजिक सञ्जाल पत्रपत्रिका सञ्चार माध्यमको प्रयोग गरी आफ्नो विरोध प्रस्तुत गर्न समेत विषादी व्यवसायी सङ्घ नेपालले आग्रह गरेको विषादी व्यवसायी संघ जिल्ला समन्वय इकाई तनहुँका अध्यक्ष सुरेश चन्द्र घिमिरेले प्रहार समाचारलाई बताए
मानो रोपेर मुरी उब्जाउने असार महिनामा किसानले न त भनेको बेलामा मल नै पाउने गर्दछन् न त किटनाशक औषधिहरू नै । यसले किसानहरू थप मारमा पर्ने देखिन्छ ।

























