प्रहार समाचार । काठमाडौँ, चैत १९ ।आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपालको ‘ए’ क्रिकेट टिमले जित निकाल्न सफल भएको छ। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो।

यसअघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा आयरल्यान्डलाई ३ रनले पराजित गर्यो।आयरल्यान्डका ओपनर रोस एडियरले १४ बलमा ३१ रन जोडे भने जेम्स म्याकुलम ४ रन र पिटर मुर २ रनमा आउट भए।
यस्तै कप्तान निल रकले २ रन मात्र जोड्न सके। तर मोर्गन टपिङ र ग्यारेथ डेलनीले अर्धशतक प्रहार गर्दा आयरल्यान्डले नेपालमाथि दबाब बढाएको थियो। टपिङ ६० रन र डेलनी ६८ रन जोडेर आउट हुँदा नेपाललाई राहत मिलेको थियो।
अन्तिम ओभरमा आयरल्यान्डलाई २० रन चाहिदा नेपालका रशिद खानविरुद्ध फिन ह्यान्डले पहिलो बलमा छक्का प्रहार गरे। त्यसपछि दोस्रो बलमा दुई रन र तेस्रो बलमा पनि दुई रन लिए। चौथो बलमा चौका प्रहार गर्दा उसलाई दुई बलमा ६ रन चाहिएको थियो। पाँचौ बलमा दुई रन लिने क्रममा ह्यान्ड २२ रन जोडेर आउट भए। जसका कारण अन्तिम बलमा उसलाई जितका लागि पाँच रन चाहिएको थियो। तर रशिद खानविरूद्ध आयरल्यान्डका म्याकार्थीले १ रन मात्र लिन सके।
बलिङमा नेपालका विपिन खत्रीले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा २३ रन दिए। कमलसिंह ऐरी, रशिद खान र नारायण जोशीले १-१ विकेट लिए।
























