प्रहार समाचार । चितवन, चैत १७। राष्ट्रपति रामचन्द्र पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्यांकन गर्नुपर्ने बेला भएको बताएका छन्।
तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा राखेका हुन् ।

“ सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहेनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्”, उनले भने “त्यसैले अब मूल्यांकन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् की स्थानीय जनताको मेहेनतबाट मात्र काम सम्पन्न भएका छन् ।

राष्ट्रपति पौडेलले अब भोटको र छाडा राजनीति गरेर जथाभावी सार्वजनिक जग्गा बाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै सार्वजनिक जग्गालाई पार्क र बगैचा बनाएर पर्यटक आकर्षित गर्न सम्बन्धित निकायलाई गरे । राष्ट्रपति पौडेलले नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्नेमा बताउँदै लोकतन्त्रप्राप्तीसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको वृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवम् भरोसा जगाएको बताए ।

“केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न हामी सबै एक भएर जुटनुको विकल्प छैन” राष्ट्रपति पौडेलले भने । देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो परन्तु त्यसको लागि पहिलो खाँचो सुशासन नै भएको राष्ट्रपतिले स्पष्ट पार्दै “म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा भाग्दिन, अर्थात देश विकास नै मेरो अभिष्ट र अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले थपे ।

उक्त पुल २१ करोड ६८ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलले तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्छ । २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भए अनुसार तीन वर्षभित्र २०७४ कात्तिक भित्र पुलको निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पछिल्लो पटक म्याद थपेर २०७९ को चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने आलटाल गरे पनि पुल निर्माणबारे राष्ट्रपति पौडेलले चासो राख्दै आएका थिए ।
























